Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १८ माघ २०७९ । बिर्तामोड झापाका २१ वर्षीय राजीव बस्नेत काठमाडौँमा सीए पढ्छन् । एक दिन उनलाई फेसबुकमा एक युवतीको फ्रेण्ड रिक्वेस्ट आउँछ । हेर्दा सुन्दर देखिने युवतीको रिक्वेस्ट आएपछि राजीवले पनि त्यसलाई स्वीकार गर्छन् । आफू पनि बिर्तामोडमै बस्ने गरेको बताउने युवती र राजीवबीच फेसबुकमा कुराकानी सुरु हुन्छ ।

कुरा गर्दै गएपछि युवतीले राजीवको मोबाइल नम्बर पनि माग्छिन् । राजीवले उनलाई आफ्नो मोबाइल नम्बर दिए पनि कुराकानी भने फेसबुकको म्यासेन्जरमा मात्रै हुन्थ्यो ।

केही समयपछि राजीव काठमाडौँबाट बिर्तामोड फर्किन्छन् । जसको जानकारी उनले युवतीलाई समेत दिन्छन् । झापा पुगेपछि पनि दुईबीच कुराकानी जारी रहन्छ । कुराकानीकै क्रममा युवतीले आफूलाई इलामको श्रीअन्तु घुम्न जान मन लागेको बताउँछिन् । राजीवले पनि युवतीलाई श्रीअन्तु घुमाइदिने वाचा गर्छन् । तर श्रीअन्तु जानुभन्दा पहिले एकपटक भेटघाट गर्ने कुरा हुन्छ ।

जसअनुसार युवती र राजीवबीच गत माघ ४ गते साँझ झापाकै सालबारी ढिल भन्ने स्थानमा भेट हुन्छ । करिब २ घण्टा भएको भेटघाटमा युवतीको आफ्नो वास्तविक घर भारतको मणिपुर भएको बताउँछन् । आफूलाई इलाम मन पर्ने र इलाममा आफन्तहरू समेत रहेको बताउँछिन् । भेटघाटपछि भोलिपल्ट (माघ ५ गते) इलामको श्रीअन्तु घुम्न जाने दुई जनाको योजना बन्छ ।

राजीवले आफू श्रीअन्तुमा घुम्न जान लागेको कुरा आफ्नी दिदीलाई पनि सुनाउँछन् । यद्यपि राजीवले युवतीसँग घुम्न जान लागेको कुरा नबताई साथीहरूसँग इलाम घुम्न जान लागेको र सो दिन उतै बस्ने कुरा बताउँछन् ।

पूर्व योजना अनुसार राजीव माघ ५ गते बिहान करिब ६ः३० बजे घरबाट निस्किन्छन् । त्यो दिन इलाममै बस्ने भनेपछि परिवारले खासै वास्ता गरेन । तर माघ ६ गते साँझसम्म पनि राजीव घर नफर्किएपछि र मोबाइलको स्वीच पनि अफ भएको पाएपछि परिवारले माघ ६ गते साँझ ईलाका प्रहरी कार्यालय बिर्तामोडमा छोरा हराएको जानकारी दिन्छन् । त्यसपछि प्रहरीले राजीवको खोजी सुरु गर्छ ।

राजीवको खोजीमा जुटेको प्रहरीलाई सुरुवाती चरणमा त के भएको हो भनेर कुनै सुराक प्राप्त भएको थिएन । राजीवको लोकेसन र कल डिटेल्स खोज्दा अन्तिम लोकेसनका रुपमा सालबारी देखिएको थियो भने माघ ५ गते बिहान घरबाट निस्किएको करिब डेढ घण्टापछि राजीवको मोबाइलको स्वीच अफ भएको पाइयो । राजीवसँग अघिल्लो दिनदेखि हराएको दिनसम्म सम्पर्कमा रहेको एउटा नम्बर र अन्तिमपटक सम्पर्क भएको मोबाइल नम्बर पनि स्वीच अफ भइसकेको थियो । त्यसपछि प्रहरीलाई लाग्यो कि राजीव र ती युवती घुम्नका लागि भारततर्फ लागे । यद्यपि प्रहरीले खोजबिन भने जारी नै राखिरह्यो ।

घटनाको केही दिनपछि प्रहरीलाई सूचना प्राप्त भयो कि राजीव अपहरणमा परेका छन् । त्यसपछि प्रहरी चनाखो बन्यो र राजीवको खोजबिनलाई तीव्रता दियो । यही बीचमा प्रहरीले सिसिटिभी फुटेजको अध्ययन सुरु गरिसकेको थियो । अन्तिमपटक लोकेसन देखिएको स्थानमा अघिल्लो दिन पनि राजीव गएको प्राविधिक अनुसन्धानबाट पुष्टि भएपछि प्रहरीले त्यसक्षेत्रका सबै सिसिटिभी फुटेजको निगरानी बढायो । उता राजीव अपहरणमा परेको र ४० करोड फिरौती नदिए ज्यान लिनेसम्मको धम्कीपूर्ण म्यासेज आयो ।

अनि सुरु भयो गहन अनुसन्धान

राजीव अपहरणमै परेको र फिरौती रकम माग गरिएको सूचना प्राप्त हुनासाथ झापा प्रहरीले अन्तिमपटक कुराकानी भएको मोबाइल नम्बरका आधारमा प्राविधिक अनुसन्धान गर्दा वास्तविक प्रयोगकर्ता र दर्ता रहने व्यक्ति फरकफरक रहेको पुष्टि भयो । सोही समयमा सिसिटिभी फुटेजहरुको अध्ययन गर्दा राजीव र एक युवतीसँगै हिँडेको भेटियो । सोही सिसिटिभी फुटेजलाई पछ्याउँदै जाँदा एक घरमा ती युवती प्रवेश गरेको देखियो ।

युवती प्रवेश गरेको घरको विषयमा र उक्त घरमा बस्ने ती युवतीको बारेमा प्रहरीले सुराकी प्रयोग गरेर जानकारी लियो । जानकारी पछि थाहा भयो, राजीवसँग भेट गरेकी ती युवती त भारत गइसकेकी रहेछिन् । तर उक्त घरमा तीन जना युवतीहरू बस्ने गरेको र जसमध्ये दुई युवती भारत गएको र एक युवती अझै त्यहीँ रहेको जानकारी प्रहरीलाई आयो । प्रहरीले ती युवतीको निगरानी गर्ने निर्णय ग¥यो र प्रहरीलाई ती युवतीको निगरानी गर्न खटायो ।

माघ ११ गते साँझ ती युवती कुनै होटलमा पुगिन् । प्रहरीले होटलको निगरानी समेत ग¥यो र माघ १२ गते बिहानै युवतीलाई उक्त होटलबाट नियन्त्रणमा लियो । युवतीलाई होटलबाट नियन्त्रणमा लिएपछि ती युवतीले अन्य दुई युवतीहरू अहिले भारतमा रहेको तर राजीवबारे केही जानकारी नभएको बताइन् । पक्राउ पर्ने युवती थिइन्, स्थानीय प्रतीक्षा योङहाङ ।

बारम्बारको केरकार र युवतीको मोबाइलको प्राविधिक विश्लेषणपछि थाहा भयो कि राजीव हराउनुमा पक्राउ परेकी युवतीसँगै अन्य दुई युवतीको संलग्नता रहेछ । तिनै प्रतीक्षालाई केरकार गरेपछि थाहा भयो, राजीवसँग नजिक हुने युवती प्रतीक्षाकै बहिनी नाता पर्ने दीपिका लिम्बु थिइन् र उनी मणिपुरकी नभएर नेपालकै युवती थिइन् । दीपिका प्रतीक्षासँगै बिर्तामोडमा बसेर अध्ययन गर्दै थिइन् ।

यसरी भएको थियो अपहरण

माघ ५ गते बिहानै पूर्व योजना अनुसार राजीव बस्नेत आफूसँग रहेको प्रदेश १–०१–०१५ प ८०९७ नम्बरको स्कुटर चढेर दीपिकालाई भेट्न जान्छन् । राजीवले दीपिकालाई सिटी सेन्टर अगाडि बजारमा आउन आग्रह गरे पनि आफूसँग अटो नभएको भन्दै उनलाई अर्जुनधारा नगरपालिकामा पर्ने लक्ष्मी मावि नजिकै बोलाउँछिन् ।

राजीव दीपिकालाई लिन त्यहीँ पुग्छन् । केही समय स्कुटरको यात्रापछि दीपिकालाई एक्कासि वान्ता हुन खोजेको जस्तो हुन्छ । दीपिकाले स्कुटर रोक्न भनेपछि राजीवले स्कुटर रोक्छन् ।

दीपिका स्कुटरबाट ओर्लिएर वान्ता गर्न खोजेको जस्तो गर्छिन् । सोही समयमा एउटा बोलेरो जीप त्यहाँ आइपुग्छ र ५–६ जनाको समूहमा रहेका व्यक्तिहरुले राजीवलाई नियन्त्रणमा लिँदै आँखामा कालो पट्टी बाँधिदिन्छन् । अनि उनलाई त्यही बोलेरोमा राखेर लैजान्छन् ।

यता राजीवलाई हनि ट्रयापमा पारी अपहरण गर्न सफल भएपछि राजीवसँग नजिक भएकी युवती दीपिका लिम्बु र अर्की एक युवती सोही दिन भारततर्फ लाग्छन् । राजीवलाई पनि भारत नै लैजाने तयारी गरिएको भएपनि झापा लगायतका सीमावर्ती जिल्लामा प्रहरीलाई हाई अलर्टमा राखिएको थाहा भएपछि अपहरणकारीको समूहले राजीवलाई नेपालकै एक स्थानमा बन्धक बनाएर राख्छन् ।

अपहरणमा परेको तीन दिनपछि राजीवकी आमालाई म्यासेज पठाएर अपहरणकारीको समूहले ४० करोड फिरौती रकम माग गर्छन् । तर परिवारले आमाको मोबाइलमा आएको म्यासेज कसैले याद गदैनन् ।

पहिलो म्यासेज आएको भोलिपल्ट पुनः राजीवका बुवा कमल बस्नेतलाई सम्पर्क गरी ४० करोड रुपैयाँ फिरौती रकम माग गरिन्छ । उक्त फिरौती रकम माग गर्नुको कारण पहिले भारतको मणिपुरमा राजकुमार भण्डारीसँग भएको सुनको कारोबारमा बस्नेतले दिनुपर्ने रकम नदिएपछि छोरालाई अपहरण गरिएको अपहरणकारीको समूहले बताउँछ ।

यता प्रहरीले प्रतीक्षालाई पक्राउ गरेपछि घटनामा भारतकै मणिपुर स्थायी ठेगाना भई झापाको बिर्तामोडमा बस्ने शरद थापा मगरसहितको व्यक्तिहरुको योजना र सहयोगमा राजकुमार भण्डारीले राजीवको अपहरण गर्न लगाएको पत्ता लाग्छ । शरद थापा मगर भारत मणिपुरको आपराधिक समूह उल्फाका सदस्य रहेको र उनी मणिपुर प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको समेत पत्ता लाग्छ ।

मुख्य योजनाकारसहित घटनामा संलग्नहरु भारतमै रहेको पत्ता लागेपछि बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा राजकुमार भण्डारीबारे मणिपुरमै बुझ्न लगाउँछन् । प्रहरी प्रधान कार्यालयले पहिले भारतमा आइपीएस तालिम लिएका एक डीएसपीलाई राजकुमार भण्डारीको विषयमा बुझ्न लगाउँछ । पहिले पनि नेपालमा अपराध गरी भारत भागेका अपराधीहरूलाई भारतीय प्रहरीसँग समन्वय गरी नेपाल ल्याउने गरेका ती डीएसपीले मणिपुरका एसपीसँग समन्वय गरी राजकुमारलाई पक्राउ गर्छन् ।

राजकुमार मणिपुरमा पक्राउ परेलगत्तै बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले राजकुमारसँग सम्पर्क गरी राजीवलाई अपहरण मुक्त गर्ने सम्बन्धमा कुराकानी गर्छन् । सुरुमा राजकुमारले राजीवको अपहरणमा आफ्नो संलग्नता नै नरहेको दावी दोहो¥याइरहन्छन् । पछि राजकुमारका बुवा कमल बस्नेतसँग आफूले २० करोडभन्दा बढी भारतीय रुपैयाँ लिन बाँकी रहेको भन्दै बिर्तामोडमा भएको जग्गामध्ये आधा जग्गा माग गर्छन् ।

डीएसपी कुँवरले पनि राजकुमारलाई जग्गा दिलाउन वा लिनुपर्ने रकम दिलाउन पहल गर्ने भन्दै गर्दा पहिलो सर्त राजीवलाई छाड्नुपर्ने बताउँछन् । तर राजीवको विषयमा आफूलाई पनि थाहा नभएको र आफूले कुराकानी गरेको व्यक्तिहरूले अपहरण गरेका होलान् भन्नेसम्मको जानकारी दिन्छन् ।

राजीवलाई मुक्त गर्ने छाँटकाँट नदेखेपछि मणिपुरका प्रहरीसँग समन्वय गरेर राजीवलाई नेपाल ल्याउने तयारी गरिन्छ । मणिपुर प्रहरीले पनि आधिकारिक पत्र लिएर आए राजकुमारलाई बुझाइदिने बताएपछि राजकुमारलाई लिन झापाबाट पत्र लिएर प्रहरी मणिपुरतर्फ लाग्छ । तर झापाबाट १ हजार १ सय किलोमिटर टाढा रहेको मणिपुरमा राजकुमारलाई लिन हिँडेको प्रहरीलाई सम्पर्क गरेर भारतीय प्रहरीले फेरि ‘राजकुमारलाई तत्कालै दिन नसकिने’ बताउँछ ।

राजकुमारलाई नेपालमा नबुझाउन मणिपुरका मुख्यमन्त्रीले भारतीय प्रहरीलाई दबाब दिएको प्रहरीको भनाई छ । राजकुमार र मणिपुरका मुख्यमन्त्रीबीच चिनजान र नजिकको सम्बन्ध रहेकाले मुख्यमन्त्रीले प्रहरीलाई सो निर्देशन दिएको प्रहरीले बताएको छ । मुख्यमन्त्रीको दबाबपछि राजकुमारलाई लिन गएको झापाका प्रहरी बीच बाटोबाटै नेपाल फर्किएको थियो ।

यता प्रहरीले खोजबिन र धरपकड तीव्र राख्यो । प्रतीक्षा योङहाङको परिवार, दीपिका लिम्बु तथा अर्की एक युवतीको घरसम्म पनि प्रहरी पुग्यो भने ललितपुरमा रहेकी शरद थापा मगरकी श्रीमतीको डेरासम्म प्रहरी पुगेपछि अपहरणकारीको समूह राजीवलाई अपहरण मुक्त गर्न बाध्य बन्यो । अपहरणकारीको समूहले माघ १४ गते राती ११ बजे राजीव बस्नेतलाई पूर्वपश्चिम राजमार्गको देउनिया पुलनजिकैको क्षेत्रमा ल्याएर अपहरण मुक्त गरिदियो ।

अपहरणकारीको समूहले राजीवको साथमा रहेको स्मार्ट फोन आफै लिएर र किप्याड फोनमा राजीवको सिमकार्ड राखेर राजीवलाई अपहरण मुक्त गरेको थियो । त्यसबाहेक राजीवको साथमा रहेको केही रकम लगेर राजीवलाई बाटो खर्च भन्दै एक हजार रुपैयाँ मात्रै फिर्ता दिएको थियो ।

यता हराइरहेको राजीवको स्कुटरमा समेत जुटेको प्रहरीले राजीव चढ्ने गरेको स्कुटर भारततर्फको पानीट्याङ्की पारीको एक ग्यारेजमा फेला पारेको थियो । यद्यपि प्रहरीले आफ्नो बरामदी मुचुल्कामा भने सीमावर्ती इलाकामा फेला परेको कागजात तयार पारेको छ ।

युवतीहरूलाई २५–२५ लाख दिने सहमति

अनुसन्धानमा जुटेको प्रहरीलाई राजीवलाई अपहरण गरी ल्याएबापत प्रतीक्षा योङहाङ, दीपिका लिम्बु र अर्की एक युवतीलाई २५–२५ लाख दिने सहमति भएको पाइएको छ । झापा प्रहरीका अनुसार हनि ट्रयापमा पारी अपहरण गर्न सहयोग गरेवापत युवतीहरूलाई पैसा दिने र अपहरण लगत्तै युवतीहरूलाई विदेश पठाउने सहमति भएको थियोे ।

राजीवको आमालाई समेतको अपहरणको प्रयास

राजकुमार भण्डारीको समूह गत असार महिनामै झापा आएर कमल बस्नेतको परिवारका एक सदस्यलाई अपहरण गरी कमलसँग फिरौती लिने योजना बनाएको पाइएको छ । यसभन्दा अगाडि नै गत असार महिनामा राजकुमार लगायतका केही व्यक्ति झापा आएर प्रतीक्षा योङहाङ लगायतका व्यक्तिहरूसँग भेटघाट गरी परिवारका एक सदस्यको अपहरणको योजना बनाएका थिए ।

कमल बस्नेतकी श्रीमती धर्ममा बढी विश्वास गर्ने र उनलाई सबैले माता भन्ने गरेको कारण केही महिना अगाडि मन्दिर गएको समयमा कमलकी श्रीमतीलाई अपहरण गर्ने योजना बनाएको पाइएको छ ।

केही महिना अगाडि यही युवतीको समूहको एक सदस्यले कमलकी श्रीमतीलाई मन्दिरमा भेटी आफ्नो परिवारका सदस्य असाध्यै बिरामी भएको र ‘माता’ले छोएमा ठीक हुन्छ भन्ने सुनेको भन्दै घरमा गएर बिरामीलाई छोइदिन आग्रह गरेकी थिइन् । तर कमलकी श्रीमतीले अरूको घरमा नजाने तर बिरामीलाई ल्याएमा छोइदिने बताउँदै युवतीसँग उनको घरमा जान अस्वीकार गरेकी थिइन् ।

राजीवको अपहरणपछि सोधपुछका क्रममा राजीवका आमालाई यसअघि नै अपहरणको प्रयास गरेको तर असफल भएको अपहरणकारी समूहका एक सदस्यले प्रहरीलाई बताएका थिए ।

झापा प्रहरीका अनुसार झापाको वुद्धशान्ति स्थायी ठेगाना भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी र राजीवका बुवा कमल बस्नेतबीच व्यापारिक सम्बन्ध रहेको खुलेको छ । उनीहरू भारतको मणिपुरमा बसेर पहिले साझेदारीमै सुनको कारोबार गरेको र कारोबारको रकम बाँडफाँड वा हिसाब मिलान नभएको कारण राजीवको अपहरण गरिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी थप अनुसन्धानमा लागे पनि अपहरणकारीले राजीवलाई कहाँ लगेर राखेका थिए भन्ने पत्ता लागेको छैन । अपहरणमा प्रत्यक्षरुपमा संलग्न व्यक्ति पक्राउ पर्न नसकेको कारण यसबारे थप केही कुरा जानकारीमा नआएको प्रहरीको भनाई छ । राजकुमारले भारतमै आधारकार्ड बनाएर बसेको भए पनि भारतीय नागरिकता नलिएको कारण उनलाई नेपाल ल्याउन प्रहरीले आधिकारिक स्रोतबाट माग गर्ने तयारी गरेको छ । अपहरणमा कुल ९ जनाको संलग्नता देखिएको र त्यसमध्ये ६ जना पुरुष रहेको र तीनजना नेपाली युवतीको प्रयोग भएको प्रहरीले बताएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया