काठमाडौं, १२ माघ २०७९ । व्यवसाय गर्ने वातावरण नभएको र ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले आत्मदाह गरेको एक दिनपछि विराटनगरका एक व्यवसायीले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने रहेका छन् । उनले बुधबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको स्थानबाट प्रहरीले तीन पानाको सुसाइट नोट फेला पारेको छ । सुसाइट नोटमा न्यौपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ । नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग लिएको रकम उल्लेख गरेका छन् । ५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल संचालन गरिरहेका थिए । उनले आत्महत्या गर्नुमा बैंकको ताकेता रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।
७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा रिजालले बैंकले ताकेता माथि ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको दाबी गरेका हुन् । विराटनगरका एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने चेतावनी दिएपछि आफ्नो बेइज्जत हुने डरले न्यौपानेले आत्महत्या गरेको रिजालको दाबी छ । यस्ता बैंकलाई अविलम्ब कारवाही गर्नुपर्ने रिजालले माग गरेका छन् ।