Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १० माघ २०७९ । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले गरेको आर्थिक अनियमितता बारे छानबिनका लागि डिभिजन वन कार्यालय झापाले छानबिन समिति गठन गरेको छ।

डिभिजनका सहायक वन अधिकृत ऋषि पराजुलीको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको डिभिजन वनका निमित्त प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए।

तेलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पशुराम पोखरेल नेतृत्वको कार्य समितिले विधान, वन कार्य योजना, स्वीकृत वार्षिक बजेट र वन ऐन अनुसार कार्य नगरी आर्थिक अनियमिततामा लागि परेको भन्दै डिभिजन वनमा उजुरी परेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको निमित्त प्रमुख पाठकले बताए।

छानबिन नसकिएसम्म डिभिजनले कटान सङ्कलनको अनुमतिसँगै अन्य कुनै प्रकारको सुविधा नदिने उनले बताए। यता तेलपानी वन उपभोक्ता समूहले लापरबाही ढंगबाट काम कारबाही अघि बढाउनुका साथै आर्थिक अनियमितता गरिरहेको भन्दै स्थानीय उपभोक्तहरूले मंगलबार डिभिजन वन कार्यालयमा आवश्यक छानबिनका लागि ज्ञापन पत्र बुझाएको छ।

समूहका संस्थापक कोषाध्यक्ष उत्तम अधिकारी, सरोज भट्टराई लगायत उपभोक्ताहरूको टोलीले निमित्त डिभिजन प्रमुख पाठकलाई सोबारे ध्यानाकर्षण गराउँदै सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

उपभोक्ताको नाममा चिरान सहमति ल्याई समिल लगिएको काठ फिर्ता भए वा नभएको, मेची सब डिभिजनले जिम्मा लगाइएको ३८ थान मुडाको लेखाजोखा नभएको, सामुदायिक वन ऋणमा भएको अवस्थामा वनभोजका नाममा जथाभाबी खर्च गरेको, डिभिजन वनको आदेश बिना वन क्षेत्रमा जथाभाबी डोजर चलाएर बाटो खनिएको ज्ञापनपत्रमा उल्लेख छ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया