Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ५ माघ २०७९ । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल नेकपा एमालेको प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनु भएका घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।

यस अघि २०५६ सालमा उहाँ राष्ट्रिय सभामा सांसद हुनुभएको थियो । घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा २०१३ साल जेठ १३ गते भएको थियो । हाल भने उहाँ झापाको अर्जुनधारा नगरपालिका वडा ६ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) लाई हराएर झापा क्षेत्र नम्बर २ बाट २८ हजार ७ सय १६ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनु भएको हो ।ताप्लेजुङ स्थित गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गर्नु भएका घिमिरे काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययन गर्दा गर्दै कम्यूनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको रुपमा संगठित हुनुभएको थियो ।

वि.सं.२०३१ सालमा झापा बिद्रोह पछि राजनीतिमा लाग्नु भएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीको गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा लाग्नु भएको थियो । घिमिरे २०३५ भदौमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०३५ साल पुसमा नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा पार्टीको संगठकको रुपमा काम गर्नु भएको थियो । घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी भूमिगत जीवन पार्टी निर्माणमा बिताउनु भएको थियो ।उहाँ २०४६ भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो ।

नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट घिमिरे एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५० सालदेखि एमालेको मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाउनु भएको थियो । घिमिरे २०७५ मा एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश १ को अध्यक्ष हुनु भएको थियो ।

उहाँ २०७८ मा चितवनमा सम्पन्न एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य हुनु भएको थियो । घिमिरे अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुनुहुन्छ । घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिनुहुन्छ । त्यसकारण पनि एमालेले घिमिरेलाई सभामुख बनाएको हो । प्रतिनिधि सभामा आज भएको सभामुखको निर्वाचनमा घिमिरेले १६७ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले सय मत प्राप्त गर्नुभएको थियो ।

सभामुखमा निर्वाचित भएपछि भने उहाँ पार्टीको कुनै पनि कमिटीमा नरहनुहुने एमालेका एक नेताले बताए । किनकि प्रतिनिधि सभाको समामुख पदको गरिमा र जिम्मेवारीको हिसावले स्वतन्त्र रहनु पर्छ भन्ने मान्यता छ ।

 

तपाईको प्रतिक्रिया