Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

३ माघ २०७९
मनमा, बहराइन — नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा.रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए । डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा. रुइतले पहल नगरेको भए ती मानिसहरूले सम्भवत संसार देख्न पाउने थिएनन् ।

इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो । कोभिडका कारण पछिल्लो चार वर्षमा अहिले आएर मात्र इसा अवार्ड घोषणा गरिएको हो । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर(झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।

यो चार वर्षका लागि मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए । वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरूमध्येबाट डा. रुइतलाई छनोट गरेको हो । १४५ जनार संस्थाको सूचीबाट ६ जनार संस्थालाई सर्टलिस्ट गरिएको थियो । जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका सन्दुक रुइत थिए । तीमध्ये रुइतलाई छनोट गरिएको हो ।

युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको जुरीले डा. रुइतलाई छनोट गरेको हो । प्रा. पलसन अन्तर्राष्ट्रिय ख्याति प्राप्त मध्यस्थकर्ता र कानुनका किताबहरूका लेखक हुन् । क्याम्ब्रिज विश्वविद्यालयद्वारा प्रकाशित ‘डिनाइल अफ जस्टिस इन इन्टरनेसनल ल’ तथा अक्स्फोर्ड विश्वविद्यालयद्वारा प्रकाशित ‘दी आईडिया अफ आर्बिट्रेसन’ उनका चर्चित किताब हुन् । मध्यस्थतासम्बन्धी स्थायी अदालत, हेग (पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसन) का सदस्य उनी लन्डन स्कुल अफ इकोनोमिकका पूर्वकन्टिनेन्टल प्राध्यापक पनि हुन् । ‘इन्टरनेसनल काउन्सिल फर कमर्सियल आर्बिट्रेसन’ का पूर्वअध्यक्ष पनि हुन् । उनको नेतृत्वमा सेनेगल, अर्जेन्टिना, पाकिस्तान, मोरक्कोलगायत देशका प्रसिद्ध व्यक्तिहरू रहेको सात जनाको जुरीले १४५ जनाबाट छान्दै छान्दै अन्तिममा डा. रुइतलाई छनोट गरेको हो ।

६ जनाको सर्टलिस्ट प्रकाशित भएपछि अवार्ड छनोट समिति सदस्य तथा अनुसन्धानकर्ताहरूले ६ जना व्यक्ति र संस्था रहेको देशमा स्थलगत भ्रमण गरी उनीहरूले गरिरहेको कामबारे जानकारी लिएका थिए । ‘यो अवार्डका विजेताले मानव कल्याणका लागि व्यक्तिगत तहमा त्याग गरेका छन्, जोखिम उठाएका छन् र त्यो जोखिमसँग जुध्नका लागि लामो समय खर्चिएका छन्,’ जुरीका प्रमुख रहेका पलसनले डा. रुइतलाई नै छनोट गर्नुको कारण यसरी उल्लेख गरे, ‘रुइत अस्ट्रेलिया पुगेका थिए । उनी उतै बस्न सक्थे । अमेरिका पुगेर निकै सुविधाजनक जीवनयापन गर्नसक्थे । वा उनले आँखाका बिरामीका लागि सुविधाजनक र महँगा उपकरण अविष्कार गर्नसक्थे । उनले त्यसो गरेनन् । बरु उपचारमा सबैको पहुँच पुर्‍याउने लेन्सहरू आविष्कार गरे । त्यसको उपचार नेपालमा मात्र सीमित नराखेर संसारभर पुर्‍याए । उनको त्यो मानव कल्याणको काममा टेवा पुर्‍याउन हामीले उनैलाई छनोट गरेका हौं । यसपटक विश्व स्वास्थ्य संघ पनि सर्टलिस्टमा परेको थियो । तर, हामीले अन्तिममा डा.रुइतलाई नै छान्यौं ।’

इशा अवार्ड फर सर्भिस टु ह्युमानिटीले कस्ता व्यक्ति वा संस्थालाई यो अवार्ड प्रदान गरिन्छ भन्नेबारे आफ्नो बेवसाइटमा लेखेको छ, ‘हामी बाँचिरहेको यस कठिन संसारमा यी आदरणीय व्यक्तिहरूले पीडा र कठिनाइहरू मात्र देखेका छैनन, जहाँ केबल निराशा छाएको छ, त्यहाँ आशा ल्याउने र जहाँ सुन्दरता हराएको छ, त्यहाँ त्यसलाई ल्याउन प्रयत्न गरेका छन् । संसारका धेरै युवालाई प्रोत्साहन दिएका छन् । संसार बदल्न नवीन बाटोहरू पत्ता लगाएर मानवताको सेवाका लागि आफूलाई समर्पित गरेका छन् ।’

भारतमा चिकित्साशास्त्र पढेका डा. रुइत आफ्नो पालामा एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाएका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उनलाई सम्मानित गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेशनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए । साथै २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।

इसा अवार्ड घोषणापछि डा.रुइतले आफूले अहिलेसम्म पाएका पुरस्कारमध्ये सबैभन्दा ठूलो पुरस्कार यो भएको बताए । हाम्रो अभियानलाई विश्वव्यापी बनाउन यो अवार्डले मद्दत गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ । सम्पूर्ण नेपालीको आत्मसम्मान र मनोबलका लागि म अन्तर्राष्ट्रिय क्षेत्रमा लागिरहनेछु । त्यसमा लाग्ने टेवा यसले दिनेछ । ’

मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया