Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

काठमाडौँ, ४ पुस २०७९ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो ।

प्रतिनिधिसभाको बैठकका लागि व्यवस्थित गरिँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संघीय संसद् भवनको प्रतिनिधिसभा बैठक कक्ष । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य को हुन् रु कसले गराउँदैछ शपथ ?
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनी ८१ वर्षका छन् ।

२०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । उनीभन्दा उमेरमा बढी महिन्द्र राय यादव भएपनि वास्तविक उमेर कम रहेको स्विकार्दै शपथ ग्रहणको दिन अनुपस्थित रहेर ठाकुर अगाडि सरेका थिए ।

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । त्यसैले शपथको मिति सोमबार नै सार्वजनिक गर्न लागिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।

 

तपाईको प्रतिक्रिया
--> -->