Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, ३० कार्तक २०७९ । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले उहाँको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानुनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरीे प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको हो ।

मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाइ भई सम्बन्धित मतदान अधिकृतले मतदान केन्द्रमा लाने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्को मतपत्र डिजाइन तथा छपाइ गरी मतदान हुने दिन अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्याउन समय अभावको कारणले असम्भव भएको हुँदा मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको जनाएको छ ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया