झापा, २४ कार्तिक २०७९ । आसन्न निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये १४८ जनाले मतदान गर्न पाउने भएका छन् ।
कारागारका १ हजार ४२७ जना कैदीबन्दी रहेको जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा १४८ जनाको नाम छ ।
कारागारमा हाल १ हजार २४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार तीन सय ३५ नेपाली र एक सय १० जना विदेशी रहेका छन् ।
जिल्लामा सात सय ६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक हजार पाँच सय ३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।