Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

बिर्तामोड, २१ कात्तिक २०७९ । मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि ग्रामीण क्षेत्र अझ आदिवासी समुदायमा मतदाता शिक्षा पुग्न नसकेको सम्बन्धित क्षेत्रका नागरिकले गुनासो गरेका छन् । आदिवासी समुदायलाई हरेक हिसाबले पछाडि पारिएको भन्दै समुदायका अगुवा महिलाहरुले मतदाता शिक्षाबाट समेत उनीहरु बञ्चित बन्नु परेको बताए । सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी आदिवासी समुदायका महिलाहरुले आफ्नो समुदायमा मतदाता शिक्षाको अवस्था न्यून रहेकाले प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गर्न सरकार, राजनीतिक दल र अन्य सरोकारवालालाई अग्रह गरेका छन् ।

चुनावताका राजनीतिक दल र उम्मेदवारहरुले आदिवासी समुदायका समस्या सुनेजस्तो गर्ने, मतदातालाई प्रलोभन देखाउने तर, चुनाव जितेपछि फर्केर पनि नहेर्ने परिपाटी रहेको उनीहरुले बताए । कोच समुदायकी अग्रज महिला तथा बिर्तामोड कार्यपालिका सदस्य शर्मिला राजवंशीले मतदाता शिक्षालाई घर–घरमा पु¥याउन विशेष ध्यान दिनुपर्ने बताइन् । उनले मताधिकार प्रयोग गर्ने बारे हरेक नागरिक आफै सचेत र चनाखो हुनुपर्नेमा पनि जोड दिइन् ।

सन्थाल समुदायकी अगुवा महिला तथा नेपाल सन्थाल आदिवासी महिला उत्थान समितिकी अध्यक्ष मन्दिरा किस्कूले आफ्नो समुदायमा नागरिकता, शिक्षा, स्वास्थ्य जस्ता प्रमुख समस्या रहे पनि त्यसको समाधानमा कुनै दलले चासो नदिएको गुनासो गरिन् । छलफलमा सहभागी विमला राजवंशी, विनिता राजवंशी, निताई सोरेन, चिन्ता राजवंशी, सुरजमनि टुडू, पूजा सोरेन, फूलमुनि मुर्मू, समिता मुर्मू, लोइस्मा किस्कू, रिमा टुडू, पूर्णिमा राजवंशी लगायतले आफ्नो समुदायका नागरिकले भोगिरहेका समस्याका बारेमा बताएका थिए ।

सहभागीमध्ये कतिपयले मतपत्रको संख्या र मतदान गर्ने तरिका बारे समेत केही थाह नभएको बताएका थिए । उनीहरुले भने– दलका प्रतिनिधि तथा उम्मेदवार गीत बजाउँदै नाच्दै आउँछन्, भोट दिनु प¥यो भन्छन्, तर मतदान गर्ने तरिका बारे केही नसिकाई जान्छन् । उनीहरुले कुनै प्रकारको दबाब, प्रभाव र प्रलोभनमा नपरी मतदान गर्न पनि समुदायका नागरिकलाई आग्रह गरेका छन् । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

तपाईको प्रतिक्रिया