काठमाडौं, ३० असोज २०७९ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलाडी नेपाल आर्मीका २६ वर्षीय निमिस थापाको मृत्यु भएपछि प्याराग्लाइडिङ स्पर्धानै स्थगित भएको छ ।
पोखरा १०, अमरसिंह चोक निवासी थापाको आइतबार बिहान क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपि सुन्दर तिवारीले जानकारी दिनुभयो ।
ग्लाइडर नखुलेका कारण उहाँ अन्दाजी १०० मिटर माथिबाट जमिनमा खस्नुभएको थियो । घाइते उहाँलाई उपचारका लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पु¥याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।