झापा, २४ असोज २०७९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा सदस्य पदमा १०१ र प्रदेशसभा सदस्य पदमा १०६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसमध्ये जिल्लाका पाँच निर्वाचन क्षेत्रबाट ५ जना प्रतिनिधिसभा र १० जना प्रदेशसभाका लागि चुनिने छन् । प्रतिनिधिसभा सदस्यमा दर्ता गराएका उम्मेदवारमध्ये ३३ जना स्वतन्त्र रहेका छन् । प्रदेशसभामा भने २४ जना स्वतन्त्र रहेका छन् ।
झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ १६ र प्रदेशसभा तर्फ १८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ २० जना र प्रदेशसभा सदस्यतर्फ १९ जना, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ १८ जना र प्रदेशसभा सदस्यतर्फ १९ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ २० जना र प्रदेशसभा सदस्यतर्फ २२ जना, क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यतर्फ २७ जना र प्रदेशसभा सदस्यतर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ को मेचीनगर नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समितिको कार्यालय भद्रपुर, क्षेत्र नम्बर ४ को कनकाई नगरपालिका र क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् । जसमा ३ लाख ३२ हजार २ सय ५९ महिला, ३ लाख ३१ हजार ४४ जना पुरुष र ८ जना अन्य रहेका छन् ।