झापा, २३ असोज २०७९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीसहितका गठबन्धन दलका उम्मेद्वारहरुले आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गराएका छन् । झापाको पाँच वटै क्षेत्रमा स्थापित क्षेत्र स्तरीय निर्वाचन कार्यालयमा प्रस्तावक, समर्थक र शुभेच्छुकहरूको साथमा पुगेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।
यसैक्रममा झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी झापा क्षेत्र नं–१ ‘क’ मा नेपाली काँग्रेसका गोपाल तामाङ र ‘ख’ मा नेकपा माओवादीका श्यामवीर लिम्बूले मनोनयन दर्ता गराएका छन् ।
यता झापा क्षेत्र नं–२ मा गठबन्धन दलको समर्थनमा हरिकुमार रानाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधीरकुमार शिवाकोटीको प्रस्ताव र नेकपा समाजवादीका नीलमणि बरालको समर्थनमा रानाले साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । राना एमाले पार्टी परित्याग गरी गठबन्धन दलको समर्थनमा उम्मेदवार बनेका हुन् ।
यसैगरी झापा क्षेत्र नं–२ प्रदेश ‘क’ मा नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल र प्रदेश ‘ख’ मा नेपाली काँग्रेसका खगेन्द्र मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्तापछि आयोजित चुनावी घोषणा सभामा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँ र नेकपा माओवादीका केन्द्रीय सदस्य धर्मशिला चापागाईँले संविधान र जनआन्दोलनको उपलब्धि रक्षाका लागि गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन जनतालाई आह्वान गरे ।
क्षेत्र नं–२ का उम्मेदवार हरिकुमार रानाले आफूले लामो समयसम्म एमालेभित्रै बसेर एमालेको प्रतिगमन सच्याउन प्रयास गरे पनि के।पी। ओली रहेसम्म पार्टी नसुध्रिने देखेपछि एमाले परित्याग गरेर गठबन्धन दलको समर्थनमा साझा उम्मेदवार बनेको बताए ।
नेपाली काँग्रेस प्रदेश ‘ख’ का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभाका उम्मेद्वारहरु पुष्पराज पोखरेल, खगेन्द्र मैनाली, नीलमणि बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । कृष्ण हुमागाईँ र सि।पी। कडरियाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत अम्बिका खतिवडाले गरेकी थिइन् ।
यसैगरी झापाको क्षेत्र नं–३ मा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधि मोहन महर्जनको प्रस्ताव र वर्तमान क्षेत्रीय सभापति गणेश पोखरेलको समर्थनमा सिटौलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धन दलका तर्फबाट क्षेत्र नं–३ प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी र ‘ख’ मा नेकपा माओवादीका पूर्णसिंह राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि आयोजित घोषणा सभामा बोल्दै काँग्रेस पूर्व महामन्त्री सिटौलाले आफूले नेता बन्न नभई जनताको जीवनस्तर उकास्न राजनीति गरेको बताए । सबै जातजाति, भासाभासी, वर्ग, क्षेत्र, लिङ्गको समान सहभागितासहित गरिब र निमुखा जनताको जीवनस्तर उकास्नु नै काँग्रेसको मूल लक्ष भएको उनको भनाई थियो ।
डिल्ली घिमिरे हिक्मतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, प्रदेशसभा सदस्यका उम्मेद्वारद्वय भूमिप्रसाद राजवंशी र पूर्णसिंह राजवंशीलगायतले मन्तव्य राखेको ने।का। क्षेत्रीय कार्यवाहक सभापति गीताप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधि भिमप्रसाद राजवंशीको प्रस्ताव र क्षेत्र नम्बर–४ प्रदेश ‘ख’ का सभापति विनोद ढकालको समर्थनमा थेबेले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी झापा क्षेत्र नं–४ प्रदेशसभा ‘क’ मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका झलकसिंह दर्लामी र प्रदेशसभा ‘ख’ मा नेपाली काँग्रेसका एकराज उप्रेतीले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । लिम्बूहरूको च्याब्रुङ नाच, सन्थाल समुदाय र मुस्लिम समुदायको संस्कृति झल्किने डन्डी नाचसहित कनकाई नगरपालिकामा पुगेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको मनोनयन दर्ता गराइएको हो ।यसपछि आयोजित घोषणा सभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार थेबेले नेपाली कांग्रेसले जनतालाई अनावश्यक आश्वासन नबाँड्ने तर बोलेको कुरा गरेर देखाउने बताउँदै हरेक जनताको सुख दुःखमा आफूले साथसाथै राजनीति गरेको बताए ।
लोकतान्त्रिक शासन व्यवस्था एवं संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले जिताउन उनले जनतासमक्ष अपिल गरे । क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेद्वारद्वय दर्लामी र उप्रेती, मणिकुमार साम्पाङ, लख्खीकुमारी गणेश, पूर्व सांसद नारायणसिंह राजवंशीलगायतले बोलेका थिए । महेन्द्र भटराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत पर्शुराम ढुङ्गानाले गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–५ मा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता खगेन्द्र पाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशन प्रतिनिधि सुरेश सुब्बाको समर्थन र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको प्रस्तावमा अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी क्षेत्र नं–५ प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका जीवनकुमार राई र ‘ख’ मा नेकपा माओवादीका रेवतराज पुरी गगनले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।