Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

गौरादह, १ असोज २०७९ । देशका पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(शनिबार) बिहान १ बजे सूचना जारी गर्दै हिजो साँझ ४ बजे गरेको आकस्मिक बाढीको पूर्वानुमान अनुसार बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जनाएको छ । यी जिल्ला भएर बहने साना नदी तथा खोलामा बहाव सतर्कताखतरा सम्म रहेकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै, आज बिहान २ बजे डडेल्धुराको गैबढे, साहुखर्क चौरबन्दले, जोगबुढा र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले र वर्षा थप हुने भएकाले रंगुन, पुन्टुरा नदीहरुमा आकस्मिक बाढी आउनका साथै कमजोर भिराले जमिनमा पहिरो जान सक्ने भएकोले जोखिम रहेको जनाएको छ।

आज बिहान ३ बजे कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान गरिएकोले तल्लो तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा हुनेहरुले बिहान १० बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बिहान ४ बजे बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, कालीकोट, अछाम, सुर्खेत, दैलेख आसपास भारी वर्षा भएको छ । यी जिल्ला भएर बहने नदीमा आकस्मिक बाढी हुने भएकोले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकोले दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, आज बिहान ८ः३० बजे बाँके स्थित पश्चिम राप्ती कुमुमा जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरुमा रहनेले आज दिउँसो २ बजे सम्म उच्च सतर्कता अपनाउनुका साथै सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया