Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

तेह्रथुम, २३ साउन २०७९ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएका छन् । समुदायस्तरमै व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएपछि एक साताका लागि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए ।

गाउँपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षा शाखाको सिफारिसमा गाउँपालिकाले विद्यालय बन्द गराएको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले बताए । विद्यालय बन्द भएपछि २३ विद्यालयका करिब २ हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।

शिक्षक र विद्यार्थीपछि समुदायस्तरमै तीव्र रूपमा कोरोना संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष खापुङको भनाइ छ । खापुङ आफै पनि कोरोना संक्रमित भएपछि उपचाररत अवस्थामा छन् । सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहने ६ नम्बर वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि आएका ४० जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको मेन्छ्यायेम अस्पतालकी डाक्टर प्रशंसा न्यौपानेले बताइन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमा सुख्खा खोकी र ज्वरोको लक्षण देखिएको डाक्टर न्यापानेको भनाइ छ । ‘सुख्खा खोकी र ज्वरोको समस्या लिएर आएका सबैजसो बिरामीमा कोरोना पोजिटिभ देखिने गरेको छ,’ डाक्टर न्यौपानेले भनिन् ।कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया