काठमाडौं, २९ चैत २०७८। मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते राति आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उहाँको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको हो ।
सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने घोषणा गरेको थियो । सोही आधारमा मंगलबारबाट पानी सुरूङमार्गमा पठाइएको हो । पानी काठमाडौंमा उपलब्ध हुन अझै दुई साता लाग्नेछ ।
बाढीले मेलम्चीको मुहानमा क्षति पुर्याएको थियो । उक्त क्षेत्रमा मर्मत सम्भार तथा सरसफाईको काम सकिएको छ । पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङमार्गमा पानी पठाउने काम सम्पन्न भएको बताउनुभयो ।