Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

काठमाडौं, २२ चैत २०७८ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।

आयोगको निर्देशनअनुसार दलहरूले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् ।

यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।

यसैगरी सभा वा भेला र भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको समय तोकेको छ । चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने आयोगले जनाएको छ ।

यस्तै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न पनि आयोगले रोक लगाएको छ ।

कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।

राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले व्यवस्था गरेको हो ।

 

तपाईको प्रतिक्रिया