Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

झापा, १ चैत २०७८ । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । मौसम विज्ञान विभागको सोमबारसम्मको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा बहने उल्लेख गर्नुभयो । केही दिन तापक्रम निरन्तर बढ्ने सम्भावना रहेकाले सजग हुनु पर्ने उहाँको भनाइ छ ।

आज मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताउनुभयो । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गति २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ । ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

उहाँले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सूचना दिनु आवश्यक रहेको बताउनुभयो ।

तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानी पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नसक्ने उहाँले बताउनुभयो ।

जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया