Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २१ फागुन २०७८ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिरअघि नै संघीय संसदको चुनाव हुनसक्ने बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघिनै संघीय संसदको निर्वाचन गर्नुपर्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद सुचारु नभएको अवस्थामा सघीय निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गर्नुभयो ।

पौडेलले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

महामन्त्री गगन थापाले एमालेले संसद चल्न दिएन भने मंसिर अघिनै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काँग्रेसनै मुलुकको भरोसा भएको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गर्नुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गर्नुभयो । प्रचण्ड, माधव नेपालहरूलाई चमेराको संज्ञा दिँदै उहाँले उनीहरूले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया