Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

काठमाडौँ, १२ फागुन २०७८ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ खोप सहयोग गरेको छ । भारतीय राजदूतावासद्वारा विज्ञप्तिअनुसार भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप सहयोग गरेको हो ।

उक्त खोप सेनाको मुख्यालय जंगी अड्डामा बिहीबार गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी।एन। अनन्थनारायणले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई हस्तान्तरण गरे ।

अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ । भारतले उपहारस्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै बलाधिकृत रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुसी व्यक्त गरे ।

सन् २०२० यता कोभिसिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया