काठमाडौं, १२ फागुन २०७८ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बालुवाटारमा भएको छलफल सकिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब डेढ घण्टा लामो छलफल कुनै निष्कर्षमा नपुगि सकिएको छ ।
बैठकमा नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए । नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत सहभागी भएका थिए।
बिहीबार दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राख्नुभएको थियो । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताउनुभएको थियो ।