Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ५ फागुन २०७८ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा पनि एमसीसी टेबल नहुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने प्रस्ताव उल्लेख गरिएको छैन ।

सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव छ ।

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ ।

तर, अहिलेसम्म एमसीसीको विषयमा सत्ताधारी दलहरूबीच सहमति बनेको छैन । बिहीबार साँझ तीन घण्टा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीको सन्दर्भमा सहमति जुटाउन नसकेपछि गठबन्धको अर्को बैठक शुक्रबार विहान १० बजे बोलाइएको छ ।

गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलार्ई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया