Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

अनलाइनविचार संवाददाता

गौरादह, ५ फागुन २०७८ । झापाको विभिन्न स्थानमा शंकास्पद वस्तु राख्ने व्यक्तिहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका का २ सहित ९ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहिबार(आज)पत्रकार सम्मेलन गर्दै पक्राउ परेका को समूहहरुलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पक्राउ पर्ने मध्ये घट्नाका मूख्य योजनाकार गौरादह नगरपालिका-२ का सुमन कुमार कार्की रहेको बताउनुभएको छ । उनले घट्ना सम्बन्धि योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरी अपराधीक गतिविधीमा प्रयोग गर्ने गरेको, उनको साथबाट हिमाल सुरक्षा परिषदको पर्चा पम्पलेट, स्टयाम्प,चन्दा माग्ने गरेको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत बरामद भएको छ । उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका-५ स्थित नेपाल भारत सिमानाको दश गजा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । ३८ वर्षीय कार्की ठेकापट्टा पेशामा संलग्न रहेका छन् । यसअघि कार्की वैदेशीक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ वैशाख देखी २०७७ फागुन सम्म २२ महिना झापा जिल्ला कारागारमा बसी छुटेका व्यक्ति हुन् । यस्तै, २०७८ साउन १९ गते घरबाट ३० ग्राम लागू औषध(ब्राउन सुगर)बरामद गरिए पश्चात फरार भएको मा लागू औषध मुद्दामा उनि विरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको जनाएको छ ।

पक्राउ पर्ने कन्काई नगरपालिका-३ का ४१ वर्षिय भिष्म थापा पेशाले टयुबेल गाड्ने हुन् । उनले माघ ९ गते बिर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा प्रेसर कुकर बम राख्नुका साथै हिमाल सुरक्षा परिषदको पर्चा पम्प्लेट राखेका थिए । योजनाकारहरुले मोटरसाइकल किनिदिने प्रलोभन मा पारेर उनले उक्त कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई माघ २८ गते कन्काई नगरपालिका-३ बाट पक्राउ गरिएको जनाएको छ ।

यस्तै, पक्राउ पर्ने दमक नगरपालिका-९ चियादोकान चोक का ५० वर्षिय देवी बास्कोटा(गुरागाई) हिमाल सुरक्षा परिषद सँग आबद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहनुका साथै चन्दा असुल गर्ने कार्यमा समेत संलग्न रहेको जनाइएको छ । उनलाई माघ २९ गते घरबाट नै घट्नामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल ताथा समूहको गतिविधिमा शंकास्पद देखिएको चेकहरु समेत बरामद भएको जनाएको छ ।

पक्राउ पर्ने कन्काई नगरपालिका-३ का ५८ वर्षिय यमदत्त सिटौला कन्काइ-४ कोटीहोममा पुजारी काम गर्ने गर्दै आएका छन् । उनले ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेको एक व्यक्ति सँग मिली हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी कोटीहोम स्थित कुटीमा धेरै पटक बैठक बसी छिमेकी भिष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाई उक्त कार्य गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई माघ २९ गते कन्काई नगरपालिका-४ कोटीहोमबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने शिवसताक्षी-१ का ३२ वर्षिय सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम विगतमा लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय पाई कारागारबाट छुटेका उनले हिमाल सुरक्षा परिषद नमक समूहको गतिविधिको लागि झापा र मोरङ्ग जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने, मनमोहन दाहालबाट रकम लिई भारत बिहार राज्यको अररिया जिल्ला स्थित कलियागञ्ज सम्म पुगी सो स्थानमा बसी पार्टीका गतिविधि संचालन गर्न रकम उपलब्ध गराई सहयोग पुर्याउँदै आएको साथैै बिर्तामोड र दमकमा शंकास्पद प्रेसर कुकर राख्ने कार्यमा संलग्नता देखिन आएकोले उनलाई फागुन १ गते कन्काई-३ बाट पक्राउ गरिएको जनाएको छ ।

यस्तै, संखुवासभा खाँदबारी नगरपालिका१० का सित्तलपाटी घर भई हाल सुन्दर हरैंचा मोरङ्ग बसोबास गर्दै आएका २९ वर्षिय मनमोहन दाहालले हिन्दु राज्य नेपाल र राजतन्त्र पुनःस्थापना को माग राखी माघ ९ र १३ गते बिर्तामोड र दमकमा प्रेसर कुकर बम राख्ने योजना बनाउनुका साथै संलग्न गिरोहलाई रकम समेत उपलब्ध गराएको साथै उक्त कार्य गर्नका लागि ग्रेटर नेपालको माग राखी २०७६ वैशाख २८ गते झापाको माइधार स्थित कन्काई पुलमा शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेको एक व्यक्तिलाई परचालन गरेको कार्य अनुसन्धानबाट खुल्न आएको छ । उनलाई फागुन २ गते सुन्दरहरैंचा ६ मोरङ्ग बाट पक्राउ गरिएको छ ।

पक्राउ पर्ने गौरीगञ्ज गाउँपालिका३ का ३२ वर्षिय आनन्द भन्ने अनन्त प्रसाद गिरीले हिमाल सुरक्षा परिषदको नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योेजना बनाउने, चन्दा माग गर्ने गिरोह भारत विहार राज्यको अररिया जिल्लाको कलियागञ्ज बस्नेलाई सीमा नाकामा बसी सो गतिविधिमा संलग्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको खुल्न आएको छ । उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।

यस्तै, गौरादह नगरपालिका-५ का ३३ वर्षिय प्रदीप थापाले पनि हिमाल सुरक्षा परिषदको नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योेजना बनाउने, चन्दा माग गर्ने गिरोह भारत विहार राज्यको अररिया जिल्लाको कलियागञ्ज बस्नेलाई सीमा नाकामा बसी सो गतिविधिमा संलग्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको खुल्न आएको छ । उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका गौरीगञ्ज गाउँपालिका३ का विजय कुमार दास हलुवाइले हिमाल सुरक्षा परिषदको नाममा अन्य सकृय सदस्यले संकलन गरेको पैसा आइएमइ बाट रिसिभ गरि भारतको विहार राज्यको कलियागञ्जमा बस्दै आएका योजनाकारहरु सम्म पैसा पुर्याउने कार्य गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई फागुन ३ गते गौरीगन्ज गाउँपालिका३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिमाल सुरक्षा परिषद संगठित रुपमा अपराधिक गतिविधि गर्नको लागि विगतमा गोरखा जनमुक्ति पार्टी को नामबाट अपराधिक गतिविधी गर्ने समूहले नै कारागारबाट छुटेपछि समूहको नाम परिवर्तन गरि सोही प्रकृतिको अपराधिक कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यहि माघ ९ गते बिर्तामोड४ स्थित पश्चिम बस स्टेण्डमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र हिमाल सुरक्षा परिषद को नामको पर्चाहरु फेला परेको थियो । यस्तै, माघ १३ गते दमक नगरपालिका५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामका पर्चाहरु फेला परे पश्चात १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूह(RIT) , जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाको संयुक्त प्रयासबाट सो गतिविधिमा संलग्न कसुरवादीहरुलाई फरक फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया