काठमाडौं, ४ फागुन २०७८ । अन्य अपराधसँगै चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्कले मानव बेचबिखन अपराध बढेको देखाएको छ।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको ७ महिनामा ८६ वटा मुद्दा दर्ता भएका छन् ।
पहिला-पहिला मानव बेचबिखन भन्नेबित्तिक्कै भारतमा सीमित भनी बुझ्ने गरिएकोमा अहिले त्यसको स्वरूप नै बदलिएको छ ।तस्करहरूले भारतीय नाका भएर तेस्रो मुलुकमा मानव वेचबिखन तीव्र बनाएका छन् ।
तस्करहरूले अफ्रिकीदेखि खाडी मुलुकतिर बढी लाने गरेको ब्यूरोको तथ्याङ्कले देखाउँछ । मानव तस्करहरूबाट पीडित हुनेहरूमा अधिकांश १८ देखि ४० वर्ष उमेर समूहका रहेको प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्यूरोका प्रखुम टेकप्रसाद राई बताउनुहुन्छ ।
यो वर्ष १ सय १५ महिला र ४ जना पुरुष पीडित बनेका छन् । ७८ पुरुष र २२ महिलालाई मानव बेचबिखन अपराधमा पक्राउ गरी मुद्दा चलाइएको ब्यूरोले जनाएको छ ।
पहिला यस्ता मानव तस्करहरू गाउँ(गाउँमा पुगेर त्यहाँका किशोरीदेखि अधबैंशे महिलालाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याइ कोठीमा बिक्री गर्ने गर्दथे । तर, आजभोलि शैली फेरेर सूचनाको श्रोत सामाजिक सञ्जाललाई बनाइने गरिएको छ । यो सूचक झन् जोखिमपूर्ण बनेको प्रमुख राईको भनाइ छ ।
मानव तस्करहरूले नाका र भिजिट भिषा दुवै उपयोग गर्दै आएका छन् । सरकारले विभिन्न संघ-संस्थामार्फत बेचविखन कतिले खुल्ला सीमाको प्रयोग गरेर भारत हुँदै त कसैले भिजिट भिसामा हवाइ मार्ग प्रयोग गरेर विदेश पुर्याएर बेच्ने गरेको छ ।
ब्यूरोले सरोकारवाला संघसंस्थासँग सहकार्यगरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको राई बताउनुहुन्छ ।
मानव बेचबिखन मानव सभ्यताकै लागि कलङ्क हो । अझ हाम्रो जस्ता गरिब मुलुकका लागि बेचबिखनको जालोले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रलाई नै प्रभावित गर्ने गरेको छ । त्यसैले साझा समस्या बनेको यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।ईमेजखबर बाट