झापा, २९ माघ २०७८। झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शिवसताक्षीमा पानीमा डुबेर एक बालक र मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरी कार्यालय झापाका अनुसार शनिवार बिहान अन्दाजी ९ः३० बजे शिवसताक्षी नगरपालिका-१ बस्ने टिकामाया श्रेष्ठका ३ वर्षिय छोरा आयुस श्रेष्ठको घरबाट अन्दाजी १५० मिटर उत्तरमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको छ । नालीमा डुबिरहेको अवस्थामा बालकका काका दिनेश श्रेष्ठले देखेर तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
त्यस्तै मेचीनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय मान बहादुर बराइलीको मृत्यु भएको छ । आफ्नै घरबाट बिजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि बिर्तामोड तर्फ लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।