झापा, २९ माघ २०७८ । झापाको एक मात्र चाउचाउ उद्योग खरानीमा परिणत भएको छ । मनषा थाइफुड्सको कार्टुन गोदामबाट सुरु भएको आगोले चाउचाउ उद्योगलाई पूर्ण रुपमा खरानी बनाएको हो । मगमग चाउचाउ र चिप्स उत्पादन गर्दै आएको उद्योगमा शनिवार बिहान ४ बजे आगलागी भएको थियो ।
उद्योगको पूर्व भागमा रहेको गोदामबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएपछि झापा, इलाम, मोरङ र सुनसरीको दमकलबाट १० घण्टापछि आगो नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्योगका सञ्चालक बुद्धि घिमिरेले आगलागीबाट उद्योग शून्यमा झरेको बताए । घिमिरेले भने, ‘शून्यभन्दा पनि माइनसतिर गयो भन्न सकिन्छ । यो फोहोर उठाउन पनि अब नै पैसा चाहिन्छ ।’
उद्योगमा आगलागी भएको सुरुमा स्टाफले देखेका थिए, घिमिरे भन्छन्, उनीहरूले जानकारी गराएपछि हामीले पनि थाहा पायौँ । आगो देखेको केही बेरमै फैलिएको थियो, उद्योगका स्टाफ भन्छन् ।
२०७५ साल भदौमा झापाकै व्यवसायी बुद्धि घिमिरे, अजय अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, स्व। पर्शुराम अग्रवालले १ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याएका थिए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । झापा प्रहरीका अनुसार भौतिक संरचना, कच्चापदार्थ, मेसिन सबै जलेकाले अहिले नै क्षतिको विवरण आई नसकेको प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
‘उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्’ डिएसपी थापाले भने । केही खाने तेलका ट्याङ्की भने आगलागीबाट बचाउन सकेको पाठक बताउँछन् ।
उद्योगमा १५० जना पूर्ण कालिन र करिब ३ सय अल्पकालीन कामदार कार्यरत थिए । मेचीनगरमा यसै साता एसएस फुटवेयरमा आगलागी भएको थियो ।