चितवन, २८ माघ २०७८ । जिल्लाको राप्ती नगरपालिकामा बर्डफ्लू रोगको संक्रमण देखा परेको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।
फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ ।
संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।