काठमाडौं, १७ माघ २०७८ । साताको दोस्रो कारोबारको दिन शेयर बजार मापक नेप्से परिसूचक साढें १३ अंकले गिरावट आएको छ ।
आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ । अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ ।
तर, विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
सोमबार नेप्से परिसूचकमा ओरालो लागेपनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन ।
त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य घटेको छ । सोमबार कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ ।