Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १४ माघ २०७८। भारतसँग सीमा जोडिएको झापा क्षेत्रका मात्र १ सय २१ वटा नेपाल–भारत सीमास्तम्भ गायब भएका छन् । भारतसँग सिमाना जोडिएको १ सय ४२ किलोमिटर क्षेत्रमा रहेका ९ सय ८८ सीमा स्तम्भमध्ये ३ वटा जङ्गे पिल्लरसहित १ सय २१ वटा पिल्लर हराएका हुन् । झापाका पूर्वप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भन्छन्, ‘मेरो पालामा नै दुईवटा बर्खामा १२ र १९ वटा पिल्लर खोलाले बगायो भन्ने सूचना आएको थियो तर, यसलाई पुनः सोही ठाउँमा गाड्न सकिएन ।’

हराएकामध्ये साना १ सय १० वटा, सहायक स्तम्भ ८ वटा र जङ्गे पिल्लर ३ वटा छन् । झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार हराएका सीमास्तम्भको विषयमा गृह मन्त्रालयलाई लिखित जानकारी गराइसकिएको छ । प्रजिअ रिजालले भने, ‘कोभिड नियन्त्रण र रोकथाममा सबै जनशक्ति लागेका कारण ढिला भएको हुनसक्छ । म भर्खरै झापा आएको छु । अब यो विषयमा गम्भीर भएर लाग्नेछु ।’

भारतको पश्चिम बङ्गाल र विहारसँग सिमाना जोडिएका क्षेत्रका सीमा स्तम्भहरू केही मेची नदीले बगाएको र कतिपय भारतीय सुरक्षा फौजले नै गायब गरेको स्थानीयको भनाइ छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम पनि भारतीय पक्षको ज्यादतीका कारण सयौं बिघा नेपालको जमिन भारतले कब्जा गरेको तर, धनीपुर्जा नेपालीसँग भएकाले समस्या उत्पन्न भएको बताउँछन् । उनी भन्छन्, ‘यहाँका सीमा स्तम्भहरू रातारात हराए तर, कसले उखेल्यो भन्ने थाहा छैन, कतिपय त खोलाले नै बगाएर लग्यो ।’

नेपाली बस्तीलाई बाढीको जोखिमबाट बचाउनका लागि आफूहरूले तटबन्ध बनाउन खोज्दासमेत भारतीय सुरक्षाकर्मी र स्थानीय अधिकारीले रोकेको उनी गुनासो गर्छन् । ‘उनीहरूले यो हाम्रो भूमि हो भने तर, त्यहाँका सीमा स्तम्भहरू हराए पनि हामीले पुराना प्रमाणहरू देखाएपछि मात्र तटबन्ध गर्न दिए’ अध्यक्ष आलमले भने, ‘हराएका पिल्लर नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’

उता मेचीनगर नगरपालिकाले समेत हराएका सीमा स्तम्भको विषयमा मन्त्रालयलाई जानकारी गराएको जनाएको छ । नगरप्रमुख विमल आचार्यका अनुसार सीमा स्तम्भ हराउँदा समस्या उत्पन्न भएको छ । उनले भने, ‘स्थानीयवासी आक्रोसमा छन्, कोभिडका कारण दुई देशको बैठक बस्न नपाएर मर्मत सम्भार र निर्माण गर्न नपाएको भनिएको छ । यो सरासर गलत हो ।’ यसले भोलि झनै ठूलो समस्या निम्त्याउने भएकाले सरकारले तुरुन्त सीमा स्तभको खोजी गरी पुनस्र्थापना गर्नुपर्ने उनको भनाइ छ । ब्लाष्ट खबरबाट

 

तपाईको प्रतिक्रिया