Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झगेन्द्र खड्का
गौरादह, १२ माघ । ठेकेदारले काममा ढिलाई गर्दा गौरादह नगरपालिका वडा नं-८ मा कालोपत्र निर्माणकार्य सुरु भएका सडक अलपत्र परेका छन्।

आयोजना निर्माण कम्पनीले तोकिएको समयअवधी भित्र निर्माणकार्य सम्पन्न नगर्दा सडक कालोपत्र अलपत्र परेका हुन्। सडक निर्माणका लागि अनपमा सि.टि. कन्स्ट्रक्सन प्रा.लि.ले मिति २०७७।१०।२१ मा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार जुरोपानी चोकबाट वडाकार्यलय जाने सडक तथा जुरोपानी चोकबाट भट्टा जाने १ किलोमिटर सडक कालोपत्र गर्न मु.अ. कर बाहेक ६५ लाख ९ हजार ५ सयमा ठेक्का लिएको गौरादह नगरपालिकाका ईन्जिनियर गोपाल भण्डारीले जानकारी गराए।

गत असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि कोभिडका कारण कार्तिक मसान्तसम्म म्याद थप गरिएको ईन्जिनियर भण्डारीको भनाइ छ। सडक निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई नगरपालिकाबाट लिखित पत्र पठाइ सकेको वडा नं-८ का वडाध्यक्ष भुमिराज पोख्रेल बताउँछन्। ठेकेदार समयमा सम्पर्कमा नआएमा र सडक निर्माणकार्य नगरेमा धरौटी जफत गरि ठेक्का रद्ध गरेर अर्को ठेक्का लगाइने वडाध्यक्ष पोख्रेलले बताए ।

सडक निर्माण कार्यका लागि समयले साथ नदिएको र आफू बिरामी भएकाले केही ढिलाइ भएको ठेकेदार तगारो लिम्बूले बताए।अब केही दिनमा सडक निर्माण कार्य सुरु गरिने ठेकेदार लिम्बुले बताए।सडक ५.५ मिटर चौडाइ राखेर निर्माण गरिने भएपनि ठेकेदारले सडकको बेस र सवबेस निर्माण कार्य असार मसान्त सम्ममा गरिसकेको थियो। गत कार्तिक महिनामा सडकमा प्राइमकोटको काम सम्पन्न भएपनि कालोपत्रको काम सुरु गरिएको छैन।

गत कार्तिक मसान्तसम्ममा सडक कालोपत्र निर्माणकार्यले पुर्णता पाउनु पर्ने थियो। माघ महिना आधा बितिसक्दा समेत सडक अधुरै छ।सडक निर्माणकार्य अलपत्र परेपछि स्थानीय बासिन्दा निराश भएको स्थानीय गंगाराम ताजपुरिया बताउँछन्। वडा नं-८ भित्र हाल सम्म ग्रामिण सडक कालोपत्र नभएकाले सडक कालोपत्र गर्ने कार्य सुरु हुदा स्थानीय बासिन्दा हर्षिद भएका थिए।

वडा नं-८ मा रहेका ग्रामिण सडकहरु मध्ये कालोपत्र सुरु सुरु गरिएको सडक निर्माण भालेमेवा रोपेजस्तो भएको स्थानीय नगेन्द्र के।सी। बताउँछन् । भालेमेवाले फल दिने आशा देखाएर फल नदिए जस्तै सडक निर्माण कम्पनीले आधाकाम गरेर आशा देखाएर छोडेको के.सी. बताउँछन्। वडा नं-८ को क्षेत्र भित्र पाडाजुगी गौरीगंजको मुख्य सडक बाहेक अन्य सडक कालोपत्र भएको थिएन।वडा भित्र रहेका अधिकांश भित्र सडकहरु उच्च स्तरीय ग्राभेल भएका छन। केही सडकहरु ग्राभेल मात्र गरिएका छन।

तपाईको प्रतिक्रिया