Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १२ माघ २०७८ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ ।

सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी भएको छ ।

प्रदेश १ मा भने एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेले हत्याउन सफल भएको छ । लुम्बिनीको राष्ट्रियसभा सदस्यको तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, एकीकृत समाजवादीकी गरिमा शाह र कांग्रेस नारायण मिश्र विजयी हुनुभयो ।

कर्णालीमा गठबन्धनका तर्फबाट माओवादीका केन्द्रका नरबहादुर विष्ट, कांग्रेसकी दुर्गाकुमारी गुरुङ र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवारमा गोमादेवी तिमल्सिना र अन्यमा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन् ।

गण्डकीमा गठबन्धनका सुरेश आले मगर, कमला पन्त र भुवन सुनार निर्वाचित हुनुभयो । उता प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पाले जित हात पार्नुभयो ।

गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जनता समाजावादी पार्टीको तर्फबाट गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मार्नुभयो । प्रदेश १ मा अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित हुनु भएको छ । एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।

मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।

 

तपाईको प्रतिक्रिया