Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २५ पुस २०७८ । झारफुक गरेर रोग निको पार्ने भन्दै काठमाडौंमा आश्रम चलाउँदै आएकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठलाई झारफुक गरेर निको बनाउने भन्दै आश्रममा राखेको २१ दिनमा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

टाउकोसम्बन्धी समस्या भएकी श्रेष्ठलाई उनले फुकेरै निको बनाउने भन्दै परिवालाई आश्रममा छाडेर जान आग्रह गरेकी थिइन् । ठकुरीको आग्रहमा श्रेष्ठको परिवारले उनलाई काठमाडौंको नागार्जुन–१ मा रहेको आश्रममा छाडेर गएका थिए । उपचारको लागि आश्रममा छाडेर गएको २१ दिनपछि छोरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता दिनेश राज मैनालीले जानकारी दिनुभयो ।

पीडित परीवारले आश्रम सञ्चालक ठकुरीले कुटपिट गरेर रोशनीको हत्या गरेको आरोप लगाएका छन् । मृतकको शरीरमा निलडाम देखिएको तथा नाकबाट रगत बगेको अवस्थामा देखिएको उनीहरुको भनाई छ ।

श्रेष्ठलाई टाउको दुख्नेबाहेक कुनैपनि समस्या नभएको परीवारले बताएका छन् । मृतकको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी ठकुरीलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । धामी, झाक्री जस्तो अन्धविश्वासको पछि लाग्दा अबोध बालीकाको मृत्यु भएको भन्दै प्रहरीले यस्ता अन्धविश्वासको पछि नलाग्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया