Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २८ मंसिर २०७८ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको चरणको निर्वाचनको मतगणना सुरु गर्ने तयारी भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणनाको तयारी भइरहेको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सभापति प्रत्यासी शेरबहादुर देउवा समूहका महामन्त्री प्रकाश शरण महत, गृहमन्त्री बालकृष्ण खाँड, उपसभापति उम्मेदवार पूर्णबहादुर खड्कालगायतका नेताहरु उपस्थित हुनुभएको छ ।

तीन स्थानमा मतगणना गर्ने र एकीकृत गरेर मतपरिणाम घोषणा गर्ने तयारी भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले मतगणनाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । रिजालका अनुसार मतगणना सुरु भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक हुनेछ ।

कांग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ ।

पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो चरणको चुनावमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले २२५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

 

तपाईको प्रतिक्रिया