Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, ४ मंसिर २०७८ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ ।

एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च अङ्कका कारण परीक्षार्थीको समग्र ग्रेड उच्च हुने गरेको छ । यसले विद्यार्थीको सिकाइमा असर पार्ने र माथिल्ला कक्षा चढे पनि उत्तीर्ण हुन नसक्ने जस्ता समस्या निम्त्याउने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माका अनुसार नयाँ व्यवस्था लागू भएपछि परीक्षार्थीले सैद्धान्तिकमा पनि परीक्षा दिएको कुल अङ्कको ३५ प्रतिशत ल्याउनैपर्छ । तोकिएको अङ्क ल्याउन नसक्नेलाई प्रमाणपत्र जारी नगर्ने तयारीमा मन्त्रालय छ ।

विद्यालय तहको परीक्षाको नतिजा प्रकाशनमा अपनाइएको अक्षराङ्कन पद्धति र पाठ्यक्रम सुधारका उपायबारे अध्ययन गरेर सुझाव पेस गर्ने गरी मन्त्रालयले गत भदौ ११ गते राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. उषा झाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । पाँच सदस्यीय कार्यदलले केही समयअघि मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

 

तपाईको प्रतिक्रिया