Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

झापा, ४ मंसिर २०७८ । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपाल पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको हो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो ।परिषद्ले कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उहाँले बताउनुभयो। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उहाँले आग्रह गर्नुभएको छ।

 

तपाईको प्रतिक्रिया