Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

अनलाइनविचार संवाददाता
गौरादह, २९ कार्तिक २०७८ । झापाको गौरादहमा धारिलो हतियार प्रयोग गरी एकजना पुरुषको हत्या गरेको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गौरादह नगरपालिका-५ स्थित चप्रामारी बस्दै आएका ४६ वर्षिय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय दमकले आज (सोमबार) सार्वजनिक गरेको हो । पक्राउ परेका ५ जना नै सोही ठाउँ बस्ने मृतकका छिमेकीहरु रहेका छन् ।

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-५ का ३१ वर्षिय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षिया सुमेरन खातुन, सोहि ठाउँ बस्ने २६ वर्षिय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षिया रुक्सार खातुन र सोही ठाउँ बस्ने महम्मद सद्दाम कि दिदि ३८ वर्षिया कुर्समान खातुन रहेका छन् ।

मृतककी श्रीमती नुरजन खातुनले यहि असोज ११ गते आफ्नो श्रीमान मबेसिर हुसेन मियाँ बिहान ११ बजेदेखि हराएको भन्दै खोजतलास गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय दमकमा असोज १४ गते निवेदन दिए पश्चात प्रहरीले खोज तलासको क्रम जारी राखेको थियो । खोज तलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले असोज २६ गते दिउँसो २ः३० बजेको समयमा गौरादह नगरपालिका-५ चप्रामारीका  महमद सद्दामको घर खानतलासी गर्दा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएको, उक्त कोठादेखि दक्षिणतर्फ बाहिरी टवाइलेटको सेफ्टी टयाङ्की भित्र खोजि गर्दा मबेसिर हुसेन मियाँलाई घातक हतियार प्रयोग गरि मारेर कम्बलमा पोको पारी सेफ्टी टयाङ्की भित्र फालिएको र उक्त शव दुर्गन्धित अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएकोमा पोष्टमार्टमको कार्य सम्पन्न गरि शवलाई आफन्तकोमा बुझाइएको जनाइएको छ ।

पुरानो रिसिविका कारण उक्त घट्ना भएको इलाका प्रहरी कार्यालय दमकका इन्सपेक्टर अनिल माबोहाङ्गले जानकारी दिनुभयो । घट्ना अनुसन्धानकै क्रममा रहेकाले छिटै नै सबै कुरा स्पष्ट हुने इन्सपेक्टर माबोहाङ्गले अनलाइनविचारलाई बताउनुभयो । यस्तै, हराएको दिन अर्थात त्यहि राति नै मबेसिर हुसेन मियाँको हत्या भएको प्रहरीले जनाएको छ ।

सो घट्नामा प्रयोग भएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र घन(मार्तोल) लगायत प्रमाणयोग्य वस्तुहरु प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धानका लागि नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया