Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

नगरपालिका भने अनुपस्थित

गौरादह, २३ असोज । परिवर्तनका संवाहक नेपाली युवाहरुलाई रचनात्मक आर्थिक, सामाजिक तथा राजनीतिक भूमिकामा सक्रिय गराउन सकेमा मात्र देशको सर्बाङ्गिण विकास सम्भव हुने मन्त्री हिरा कुमार थापाले बताएका छन् ।

झापाको गौरादहमा धिमधिमे युवा क्लबद्वारा आयोजित वडा स्तरीय भलिवल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाले राष्ट्र निर्माणमा युवालाई कसरी जोड्न सकिन्छ भन्नेमा सबैले ध्यान दिन आवस्यक रहेकोमा जोड दिएका हुन् ।

अफ्नो जीवनको उर्जाशील मुख्य उमेर गौरादहको भुगोलमा रहेर राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तमा योगदान गरेको स्मरण गर्दै मन्त्री थापाले निरंकुश पञ्चायती ब्यवस्थाको बिरुद्ध भुमिगत संघषर्मा बिभिन्न भूमिकामा साथ सहयोग गर्नुहुने गौरादहबासीलाई धन्यवाद समेत ज्ञापन गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि गौरादहमा पहिलो पटक आज औपचारिक कार्यक्रममा संवोधन गर्ने अवसर पाएको भन्दै मन्त्री थापाले आयोजक प्रति आभार समेत ब्याक्त गरे ।

धिमधिमे युवा क्लव गौरादह ३ का अध्यक्ष प्रविण बस्नेतको सभापतित्वमा सम्पन्न सो उद्घाटन कार्यक्रममा गौरादह वडा नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरे, राजनीतिक विश्लेषक तथा गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहाल, सुर्योदय आधारभुत विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कुमार खतिवडा तथा नगर खेलकुद विकास समिति गौरादह ३ का अध्यक्ष मदन अधिकारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

नगरपालिका भने अनुपस्थित

नगरपालिकामा दर्ता भएको तथा गौरादह नगरपालिकामा बिभिन्न रचनात्मक गतिबिधिहरु संचालनको अगुवाइ गरिरहेको आधिकारिक क्लबको निमन्त्रणालाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएतले कार्यक्रममा नस्विकारेको पाइयो । मन्त्री उपस्थित सो उद्घाटन कार्यक्रममा गौरादह नगरपालिकाको आधिकारिक उपस्थिति भने थिएन । पत्रचार गरेर निमन्त्रणा गर्दा पनि नगरपालिका अनुपस्थित रहेको भन्दै क्लबका अध्यक्ष बस्नेतले गुनासो समेत गरेका छन् ।

कार्यक्रममा बिभिन्न संघसंस्थाबाट तथा सामाजिक राजनीतिक ब्याक्तित्वहरु श्याम पोखरेल, माधव भट्टराई, डण्डिराज घिमिरे, गांगा कार्की, लिला गौतम, बाबुराम थापा, बाबुराम भुजेल, निर्मल बाँस्तोला, गंगा दुलाल, तिलक खबास, एकराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहको अवसरमा क्लबले विहान मोटरसाईकल र्याली समेत गरेको थियो । कार्यक्रममा स्वागत नृत्य सुरज शिक्षा प्रतिष्ठान गौरादह २ का विद्यार्थीले प्रस्तुत गरेका थिए । सुर्योदय आधारभुत विद्यालय गौरादह ३ को खेलमैदानमा भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका सदस्य युवराज खनालले गरेका थिए भने क्लबका आजिवन सदस्य कुमार पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया