Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २२ असोज २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ ।

यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

सरकार गठन भएको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिनुभएको छ । उहाँ प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाको जेठान हुनुहुन्छ ।

त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि कानुनमन्त्री रहनुभएका कार्कीले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसक्नुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा०बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाउनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।

 

तपाईको प्रतिक्रिया