Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ११ असोज २०७८ । सिंहदरबारजस्तै नारायणहिटी दरबारको जग्गामा पनि वक्रदृष्टि पर्न थालेको छ । व्यावसायिक फाइदा उठाउन फौजी, निजामतीदेखि नेताका दैलोमा जग्गा कब्जा जमाउनेहरू लागिपरेका छन् ।

पशुपति विकास कोषमा भारत सरकारले बनाइदिएको धर्मशालामा होटल सञ्चालन गर्ने बतास समूहले त दक्षिण ढोकासँगै रहेको खाली जग्गामा धमाधम रेष्टुरेन्ट बनाइरहेको छ । राजाहरूले भोग चलन गर्दै आएको ७ सय ५३ रोपनी ८ आना दुई दामको जग्गा राजतन्त्रको बहिगर्मनसँगै खण्ड–खण्डमा विभाजन भएको छ ।

जग्गा हत्याउन अहिले प्रतिस्पर्धा नै चलेको छ । राजनीतिक नेतृत्वको आशिर्वाद पाएका व्यवसायीले त कब्जा जमाएर व्यापारको मेसो मिलाइसकेका छन् । केपी ओली नेतृत्वको सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले पोखराको व्यावसायिक घराना बतास समूहलाई रेष्टुरेन्ट चलाउन दरबारको मुख्य क्षेत्रको जग्गा दिने निर्णय गर्नुभएको थियो ।

संग्रहालयले आर्थिक भार थेग्न नसकेका कारण पश्चिमको केही भाग क्याफेलाई ३ वर्षका लागि भाडामा लगाइएको संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङ बताउनुहुन्छ । नेपाल सरकारको आर्थिक ऐन अनुसार नै टेन्डर भएको र बतास समूह अन्तर्गतको एउटा कम्पनीले क्याफे चलाइरहेको उहाँको भनाइ छ ।

दरबारमार्गस्थित दरबार अगाडिको जग्गामा यति होल्डिङस्ले विशाल कम्प्लेक्स बनाएर भाडामा लगाउन थालेको धेरै भइसक्यो । दरबारहाताको अन्य भागमा नेपाली सेना र नेपाल सरकारले विस्तारै कब्जा जमाउँदैछन् । राजपरिवारको निजी सचिवालय रहेको तात्कालिन राजदरबारको पश्चिमी क्षेत्रमा राहदानी विभाग सञ्चालनमा छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्रको इकाइ पनि पश्चिमी क्षेत्रमा स्थापना गरिएको छ । आडैमा रहेको फारसखाना(राजपरिवारले शिकार गरी ल्याइएका जनावरको अवशेष राख्ने ठाउँ)को केही भाग सेनाले कब्जा गरिसकेको छ । राजपरिवारको तरकारी खेती गर्ने स्थलमा पनि सेनाले ‘प्रवेश निषेध’ को बोर्डसमेत झुण्ड्याउन भ्याइसकेको छ ।

तरकारी खेती गर्ने स्थानको भित्री भागमा हकभोग जमाइसकेको सेनाले राजपरिवारको बारबिनायक गणेश मन्दिर पनि कब्जा गरेको छ । त्यतिमात्र होइन, उत्तरी भागमा सेनाका विभिन्न गण र मध्यपृतनापतिको मुख्यालय समेत खडा भइसकेको छ । राजाको समयमा घोडातबेला, गाई गोठ, सञ्चार केन्द्र, झिरपोखरी लगायतका क्षेत्र संग्रहालयको पहुँचमा नभएको सूचना अधिकारी गुरुङको भनाइ छ ।

नारायणहिटीको पूर्वी भागमा रहेको महेन्द्र मन्जिल परिसर, रणोद्वीपको दरबार राजामहाराजाको पुजा कोठा, घोडा चढ्न सिक्ने ठाउँ, टेनिस कोर्ट, श्रीसदनलगायत केही भाग संग्रहालयको स्वामित्वमा रहे पनि घोडाको तबेला र गणतन्त्र पार्क सेना अन्तर्गत रहेको छ । राष्ट्रिय सम्पति र इतिहासको धरोहरका रूपमा रहेको ठाउँ संरक्षण गनु सट्टा कब्जा गर्न चलेको हारालुछ आफैंमा गलत छ ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया