Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ११ असोज २०७८ । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरोध गरेको पूर्व-पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु भएको छ । पीडित पक्षले विभिन्न माग राखेको सो विषयमा छलफल गरेर टुङ्गाउने विषयमा झापा प्रहरी सहमत भएपछि राजमार्ग सुचारु भएको हो ।

पीडित पक्षले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनु पर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ ५ सय मिटर पर गर्नुपर्ने र राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्नु विषयमा माग राखेको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए ।

सो मागको विषयमा प्रहरी, जनप्रतिनिधि र पीडित पक्षको बैठकबाट छलफल गरी टुङ्गाउने लगाउने मौखिक सहमति पश्चात् राजमार्ग खुलेको उनले बताए । बिहान साढे ८ बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयवासीले साढे ११ बजेसम्म राजमार्ग अवरोध गरेका थिए । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३–००१–क–००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती (पिकअप भ्यान)लाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो । टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका– ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया