Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

संखुवासभा, ४ असोज २०७८ । जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

खाँदबारीमा पत्रकार सम्मेलनमा हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर, यसअघि पक्राउ परेका लोकबहादुरका बुवा ४९ वर्षीय रणबहादुर र उनका १७ वर्षीय भाइ नरेशलाई पकाउ गरेको हो ।

अभियुक्त रणबहादुर कार्कीको घरमा अघिल्लो दिन हत्या योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्की लगायत परिवारका ६ जनाको सामुहिक हत्या गरेको उनीहरूले स्वीकार गरेका छन् । पक्राउ परेका दुई घरका अभियुक्तले आफू र आफनो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गाली गलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक भीम दाहालले बताउनुभयो ।

यसअघि प्रहरीले अभियुक्त रणबहादुरका २५ वर्षीय जेठा छोरा लोकबहादुर कार्कीलाई भाद्र २७ गते हत्या आरोपमा सार्वजनिक गरेको थियो । अभियूक्त लोकबहादुरले आफू एक जनाले सबैको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा प्रहरीले थप व्यक्तिको संलग्नताको आशंकामा अनुसन्धान जारी राखेको थियो ।

घटना भएको दिनदेखि नभेटिएर स्वीच अफ भएको मृतक रन्जनाको मोबाइल अभियुक्त नरेशको साथबाट भेटिएपछि घटनाले अर्कै मोड लिएको हो । रन्जनाको मोबाइल फेला पारेपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । पक्राउपछि गरिएको अनुसन्धानमा नरेशले अन्य व्यक्तिहरू पनि घटनामा संलग्न भएको प्रहरी समक्ष बयानपछि थप व्यक्तिहरूलार्ई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार सार्वजनिक गरिएका अभियुक्तमध्ये खड्गबहादुर कार्की मुख्य योजनाकार रहेका र उनकै निर्दैशनमा लोकबहादुर, भाइ नरेश र खड्गबहादुरका छोरा हस्तबहादुरले छुरा र चिर्पट प्रहरी गरी मारेको स्वीकार गरेका छन् । हत्यापछि तेजबहादुरको घरबाट अभियुक्त पाँचैजना रणबहादुरको घरमा भेला भइ पक्राउ परे लोकबहादुरले मात्रै हत्या स्वीकार गर्ने सहमति भएको खुल्न आएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएका छुरी, रगत लागेको कपडा र हराएको मोबाइल बरामद गरेको र घटनाको थप अनुसन्धान भइरहेको संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । घटनास्थलमा अहिले पनि प्रहरी निरीक्षक सहित १० जनाको टोलीले अन्य अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षिय पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रन्जना, ८ वर्षीय पनाति दिपेन र ५ वर्षीया पनातिनी गोमाको विभत्स हत्या भएको थियो । भदौ २१ गते बिहान उनीहरूको शव घरदेखि केही परको बाटो, खोल्सा र खरबारीमा भेटिएको थियो ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया