बिनिता निरौला
गौरादह, २५ भदौ । नेपाली कांग्रेसको नगर अधिबेशन नजिकिदै जाँदा गौरादहमा चुनाबी सरगर्मी बढेको छ। उमेदवारहरु भोट माग्न ब्यस्त छन्। काङ्ग्रेसको गौरादह नगर सभापतिमा दुई जनाको उमेदुवारी रहने करिब निस्चित भएको छ।

गौरादहमा पार्टीलाई चलायमान बनाउदै संगठन मजबुद बनाउन सक्रिय देखिएका दुई जनाले सभापतिमा दाबेदारी प्रस्तुत गरेका हन्।

कांग्रेसको १४ औं महाधिबेशनमा नगर सभापतिका लागि गोपाल कोइराला र यादव सेढाईले उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा नगरसमितिको नयाँ नेतृत्वको लागि कोइराला र सेढाईले आफ्नो दावी प्रस्तुत गरेका हुन्। पार्टीको नेतृत्व तवरबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरेपनि दुबै जनाले उमेदवारी नछोडे पछि नेतृत्व चयनकालागि चुनाबलाई रोज्नु परेको हो।

गौरादह नगर समितिले संसोधित तालिका अनुसार असोज ९ गते नगर अधिवेशन गर्दैछ। सेढाई दोस्रो कार्यकालका लागि उमेदवार बन्दैछन् भने कोईराला नगर सभापतिका लागि पहिलो पटक उमेदवार बन्दैछन्। बौद्धिक ब्याक्तित्वका रुपमा चिनिएका कोइराला र यस अघि सफलता पूर्वक सभापति चलाइसकेका सेढाईले सभापतिका लागि उम्मेदवार बन्ने पार्टी श्रोतले जानाएको छ।

उनीहरु दुबैजनाले सामाजिक संजाल मार्फत समेत आफ्ना सहयोगी शुभचिन्तकलाई परिचालन गरी भोट मागिरहेका छन् । नेपाली कांग्रेस पार्टीमा कार्यकर्ताहरुको चहलपहल हेर्दा सभापति पदमा निकै ठुलो प्रतिस्पर्धा हुने देखिन्छ। स्थानीय निर्वाचन समेत नजिकिँदै गरेको समयमा उम्मेदवार छनौट गर्न समेत महत्वपूर्ण भूमिका हुने भएकाले नगर नेतृत्वलाई निकै महत्वकासाथ हेरिएको छ।

चुनाब नजिकिदै जाँदा प्रतिस्पर्धा हुने देखिएता पनि थोरै मतको हारजित हुने कार्यकर्ताको भनाइ छ।नगर सभापतिमा कोइराला र सेढाई मध्ये कार्यकर्ताको रोजाईमा को पर्लान कांग्रेस बृत्तमा निक्कै चासो बढेको देखिन्छ ।

पार्टी सुदृढिकरणमा आ-आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान गरेका सेढाई र कोईराला बीच एउटै पदमा उमेदवारी परेपछि कार्यकर्ता कसलाई रोज्ने भन्नेमा अलमलमा परेका छन्। निडर र स्पष्टवक्ताको रूपमा गौरादहमा चिनिएका सेढाई र बौद्धिक क्षामता र पार्टी संगठन चलाउन चतुर मानिएका कोइरालाले उम्मेदवारी प्रस्तुत गरेपछि कार्यकर्तालाई सभापति छान्न संकट परेको कार्यकर्ताको भनाइ छ।

पार्टीमा समस्या र संकट आएमा सहज रुपमा अवतरण गराउन सक्ने धैर्यवान र नम्र स्वभावका व्यक्तित्वको रूपमा कोइरालालाई लिइन्छ भने निडर र तार्किक क्षमता भएका ब्याक्तित्वका रुपमा कार्यकर्ताले सेढाईको नाम लिने गरेका छन्।

तपाईको प्रतिक्रिया

Comments