Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, २४ भदौ २०७८ । ग्वालडुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादह-७ ले उपभोक्तालाई खानेपानी महसुल नलिई नि:शुल्क खानेपानी बितरण गरिरहेको छ। खानेपानी निर्माणकार्य सुरुभएको लामो समयको प्रतिक्षापछी एक बर्ष अगाडि संचालनमा आएको खानेपानी उपभोक्ताहरुले नि:शुल्क उपभोग गर्न पाइरहेका छन्। शुद्ध पिउने पानीको प्रतिक्षामा बसेका उपभोक्ताले निस्शुल्क शुद्ध पिउने पानी पाएपछि स्थानीयबासि हर्षित छन् । गाउँ घरमा गरिब तथा विपन्न परिवारहरुको बसोबास रहेकाले खानेपानीको महत्त्व बुझाउन र सबै उपभोक्ताहरु समक्ष शुद्ध पिउने पानीको सुविधा पुर्याउने उद्देश्यले निशुल्क खानेपानी वितरण गरिएको समितिले जनाएको छ।

खानेपानी आयोजना निर्माण गर्दा बचेको पैसाको ब्याजबाट हालसम्मको खर्च मेन्टिनेन्स हुँदै आएको कार्यवाहक अध्यक्ष राजेन्द्र सुवेदीले बताए। शुद्ध खानेपानी नागरिकको अनिवार्य आवश्यकता भएकाले सबै नागरिक समक्ष खानेपानीको सुविधा सहज रुपमा वितरण गर्न आगामी वर्षहरुमा स्थानीय सरकारले सहयोग गर्नु पर्ने अध्यक्ष सुवेदीले बताएका छन्। स्थानीय सरकारले सहयोग गरेमा खानेपानी महसुल नलिईकन उपभोक्तालाई सधैभरि पानीको सुविधा दिन सकिने सुवेदीको भनाइ छ। ग्वालडुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गौरादह नगरपालिका वडा नं २ को केही भागका साथै वडा नं.७ र ८ मा पानी वितरण गर्ने जनाइएको छ। खानेपानीको सेवाक्षेत्र भित्र २ हजार ७ सय घरधुरी रहेको समितिका सचिब चुडा बहादुर भुजेलले जानकारी गराए। खानेपानी संचालन भएको एक बर्षको अवधिमा ४ सय २१ घरधुरीले खानेपानी जडान गरि उपभोग गरेको र अन्य उपभोक्ताहरुले जडान गर्ने कार्य भइरहेको समितिका कार्यवाहक अध्यक्ष सुबेदीले जानकारी गराए। उपभोक्ताहरुलाई शुद्ध खानेपानी वितरण गर्न २ लाख २५ हजार लिटर क्षामताको ओभर हेड ट्याङ्की निर्माण गरिएको छ।

फिल्टर तथा भवन निर्माण गरिएको र खानेपानी निर्माण आयोजनाका लागि हाल सम्म ७ करोडको हाराहारीमा खर्च भएको कार्यवाहक अध्यक्ष सुवेदीले बताए। शुद्ध खानेपानीको अभावमा गाउँका नागरिकहरु कलको पानी पिउन बाध्य थिए। खानेपानी संचालनमा आएपछि जडान गरिएका घरमा कल विस्थापित भएको उपभोक्ताको भनाइ छ। धारामा पानी निरन्तर आइरहेको र कलको पानी भन्दा धाराको पानी पिउन योग्य भएकाले कल चलाउन छोडेको गौरादह नगरपालिका वडा नं.२ कि रेणुका देवि दाहालले बताइन। कलको पानीबाट कपडा धुँदा पहेलो हुने गरेको र आइरन मिसिएको पानी भन्दा फिल्टर गरिएको शुद्ध पानी तर्फ उपभोक्ताको आकर्षण बढेको रेणुका बताउँछिन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया