Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

सुनसरी , ११ भदौ २०७८ । पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानीको बहाव उच्च भएकाले कोसी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहने निर्देशन गरिसकेको जानकारी दिनुभयो । पानीको बहाव उच्च भएपश्चात भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेको छ ।

सप्तकोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा उद्धारका लागि परिचालन गरिसकिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीको श्रीलंका टापुमा कोसीले तीव्र रूपमा कटान गरेको स्थानियवासीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया