काठमाडौँ, ८ भदौ २०७८। नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु(याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ ।

राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताउनुभयो । हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ । राहदानी सङ्ग्रहालयलाई भौतिक सामग्रीसहित अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको उहाँले बताउनुभयो ।

सङ्ग्रहालयमा आइपुगेका दुई पुराना राहदानीमध्ये एक राहदानी इन्दुशमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ । उहाँका छोरा गौरवशमशेर थापाले केही दिनअघि मात्रै विभागलाई सङ्ग्रहालयमा सुरक्षित राख्न राहदानी हस्तान्तरण गर्नुभएको थियो । प्राचीन नेपाली शैलीमा निर्माण गरिएको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानाहरूको उल्लिखित विवरणले नेपालको पुरानो कालखण्डको भाषा झल्काउने गर्छ ।
ऐतिहासिक राहदानीको रोचक जानकारी दिने भएकाले त्यो राहदानी सङ्ग्रहालयको महक्तवपूर्ण गहना मानिएको पाण्डेले बताउनुभयो । त्यो राहदानी निर्माण गर्दा नेपाल सरकारको नाममा छपाइ भएको देखिन्छ तर पछि श्री ५ को सरकार बनाइएको पाइएको छ ।
लन्डनस्थित नेपाली दूतावासबाट जारी गरिएको त्यो पुरानो राहदानीमा दूतावासका तत्कालीन प्रथम सचिव झरेन्द्रनारायण सिंहले हस्ताक्षर गर्नुभएको छ । सङ्ग्रहालयलाई प्राप्त यो नै हालसम्मको पुरानो राहदानी हो । योभन्दा पनि पुरानो नेपालको कालखण्ड देखाउने अन्य राहदानीको पनि खोजी भइरहेको विभागले जनाएको छ ।

सङ्ग्रहालयको शोभा बन्न सक्ने पुराना राहदानी तथा यात्रा अनुमतिपत्रलगायत फेला परेमा वा आफ्ना परिवारसँग भएमा विभागलाई उपलब्ध गराइदिनसमेत आमनागरिकलाई अपिल गरेको छ । सङ्ग्रहालयको औपचारिक उद्घाटन हुन भने बाँकी छ । विश्व इतिहासमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन भएको मानिन्छ । त्यो बेला एकबाट अर्को देशमा आउन जान धातुका राहदानी जारी भएको पाइएको परराष्ट्रविद् डा। मदनकुमार भट्टराई सुनाउनुहुन्छ । औपचारिक प्रचलन भने सन् १९२० ताका लिग अफ नेसन्सको सम्मेलनको एक बैठकमा मुद्दा उठेपछि मात्र कागजमा अक्षर कुँदेका राहदानी प्रचलनमा आएको दाबी उहाँले गर्नुभयो ।

नेपालको हकमा सन् १९९१ मा पहिलो पटक बेलायतमा दूतावास स्थापना भएपछि राहदानीको सुरुवात भएको मानिन्छ । सोही आसपासमै नेपालले राहदानी जारी गर्ने औपचारिक प्रक्रिया सुरु गरेका मानिन्छ ।
उहाँले भन्नुभयो, “नेपालको पुरानो राहदानी असाध्यै वैज्ञानिक थियो, अहिलेभन्दा आकारमा अलिक ठूलो पनि थियो ।” त्यसको भित्र मोडिएको सिङ्गो नेपाली कागज हुन्थ्यो । त्यो पानालाई मोडेर पहिलो पानामा व्यक्तिगत विवरण राखिन्थ्यो । अन्य पानामा भिसा लगाउने व्यवस्था गरिएको हुन्थ्यो । महिलाको नाममा छुट्टै राहदानी जारी हुने व्यवस्था थिएन ।

भट्टराईले भन्नुभयो, “धेरै पछिसम्म पनि श्रीमान्कै नामसँग जोडिएर श्रीमतीको नाम राखिन्थ्यो अनि दुवैको एउटै राहदानी हुन्थ्यो ।” अझ रमाइलो त के थियो भने बच्चाको राहदानी बनाइन्थेन । बच्चा उसैको हो भनेर जनाउन आमाको फोटोसँगै बच्चाको फोटो टाँसेर उनीहरूको बच्चा हो भनेर प्रमाणित गरिन्थ्यो ।
अलिकपछि महिलालाई छुट्टै राहदानी दिने व्यवस्था गरिएको थियो । भट्टराईले आफूले देखेअनुसारको कुरा सुनाउँदै भन्नुभयो, “नेपालमा विदेश उड्ने विमानस्थल र जहाजसमेत नभएको त्यो कालखण्डमा महिलाले राहदानीबाहेक त्यसै जिल्ला काटेर जान पाउने व्यवस्था थिएन ।”

काठमाडौँ उपत्यकाबाट कुनै महिला बाहिर जानु परेमा थानकोटको चेकपोस्टमा कडा चेकजाँच हुन्थ्यो र सोधिन्थ्यो, “राहदानी खोइ रु नेपाली महिलाको सुरक्षाका लागि त्यसो गरिएको अनुमान छ । महिलाको राहदानीमा महिला भए कुमारी अवस्थाको नाम भनेर उल्लेख गरिएको हुन्थ्यो ।”
शरीर र अनुहारको पूूरै हुलिया खुल्ने गरी विवरण लेखिएको हुन्थ्यो । राहदानी बोकेर विदेश जानुअघि भारत पुगेर विदेशी मुद्रा सटही गर्नुपथ्र्यो । अहिले खुलेको राहदानी सङ्ग्रहालयले त्यो विगतको इतिहासलाई भविष्यमको पुस्तासम्म पु¥याउन कोशेढुङ्गाको काम गर्ने जानकारी भट्टराईले दिनुभयो ।

नेपालमा सन् २०१० मार्च ३१ सम्म हस्तलिखित राहदानीकै प्रचलन थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्य बनेपछि भने नेपाल मेसिनबाट पढ्ने एमआरपी राहदानी जारी गर्न बाध्य भएको हो । नेपालमा सन् २०१० डिसेम्बर २६ देखि औपचारिक रूपमा एमआरपी कार्यान्वयनमा ल्याइएको हो । राहदानीहरूको सूची बनाउँदै आएको ‘हेनली राहदानी’ नामक संस्थाको सूचकाङ्क २०१८ का अनुसार नेपालको राहदानी ९५औँ स्थानमा छ ।गोरखापत्र अनलाइनबाट समाचार

 

तपाईको प्रतिक्रिया

Comments