Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

नेपाल शिक्षक महासंघ गौरादह मौन

झगेन्द्र खड्का
गौरादह, २८ साउन । गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र कर्मचारीलाई स्थानीय तहबाट दिइने तलब बिषयगत शाखामा राखिदा शिक्षाका नियमित कार्यक्रम प्रभावित बनेका छन्।

नगरपालिकाले शिक्षाको बिषयगत शाखामा बाल शिक्षक र कर्मचारीको तलबलाई समेत समाबेश गरेर बजेट भने बिगत बर्षकै हाराहारीमा देखाएको छ। सामान्यतया कर्मचारीहरुको तलबलाई चालू खर्चमा राखिएको हुन्छ।

नगरपालिकाले स्थानीय तहबाट दिइने बाल शिक्षक र कर्मचारीको तलबलाई चालू खर्चमा नराखि बिषयगत शाखामा राखेको छ।नगरपालिकाले शिक्षाको बिषयगत शाखामा बाल शिक्षक र कर्मचारीको तलब समाबेश गरेपनि बजेट थप नगर्दा शिक्षाको बिषयगत शाखाबाट गरिने काम प्रभावित बन्ने गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन्।

आर्थिक बर्ष २०७८।०७९ मा शिक्षा शाखामा बिनियोजित बजेटबाट बाल शिक्षक र कर्मचारीको तलब दिनु पर्ने भएकाले शिक्षाको बिषयगत शाखामा बजेट कम भएको हो। नगरपालिकाबाट शिक्षाको बिषयगत शाखामा १ करोड ८ सय १० रुपैयाँ बिनियोजित भएपनि बजेटको ठूलो हिस्सा बाल शिक्षक र कर्मचारीको तलबमा खर्च हुन्छ।

नगरपालिकाको शिक्षा शाखाबाट चालू आर्थिक बर्षका लागि प्रस्तावित बार्षिक बजेट तथा कार्यक्रम अनुसार ८४ लाख ५० हजार तलबमा खर्च हुने अनुमान गरेको छ। शिक्षाको कुल बजेटबाट बाल शिक्षक र कर्मचारीको तलब घटाउदा १५ लाख ५० हजार ८ सय १० मात्र बच्ने देखिन्छ। यस आर्थिक बर्षमा बजेट अभाब हुदा शिक्षामा ठोस तथा नयाँ कार्यक्रम हुन नसक्ने निस्चित छ।

नेपाल सरकारबाट बाल शिक्षक र कर्मचारीहरुका लागि केन्द्रबाट ८ हजार र स्थानीय पालिकाबाट ७ हजार गरि १५ हजार मासिक तलब कायम गरेको थियो। शिक्षा शाखाका नियमित कार्यक्रमको बजेट कटैती गरेर तलब थप गर्नु भनेर संघीय सरकारले परिपत्र गरेको छैन । शिक्षालाई पालिकाहरुले बजेटमा पनि प्रथमिकतामा राखेर शिक्षा प्रति जिम्मेवार बनुन भनिएको हो ।

स्थानीय तहबाट मासिक ७ हजार तलबमा खर्च गर्नु पर्ने रकम पनि गौरादहमा भने शिक्षाको बिषयगत शाखामा राखिएको छ। नगरपालिकामा बजेट कम भएकाले बाल शिक्षक र कर्मचारीको स्थानीय तहबाट दिइने तलबलाई शिक्षाको बिषयगत शाखामा राखिएको गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई बताउँछन्।

गौरादह नगरपालिकाका सामुदायिक बिद्यालयमा बाल शिक्षक र कर्मचारीहरु ९६ जना रहेका छन्। स्थानीय सरकारले बाल शिक्षक र कर्मचारीको तलबलाई शिक्षाको नियमित कार्यक्रमको बजेटमा नराखी छुट्टै बजेट बिनियोजन गर्नुपर्ने हो। झट्ट हेर्दा करोडमाथि बजेट बिनियोजन भएको देखिएपनि तलबमा मोटो रकम खर्च भएपछि बचेको थोरै रकमले शैक्षिक स्तर सुधार नहुने निस्चित छ।

गत आर्थिक बर्षमा स्थानीय पालिकाबाट १ करोड ८ लाख रुपैया बिनियोजन भएको थियो। बिनियोजित बजेटबाट बिद्यालयको भौतिक निर्माण, टुल्स, नगर स्तरीय खेलकुद तथा शैक्षिक सामाग्री खरिद मसलन्दका साथै शैक्षिक गुणस्तर सुधार लगाएतका काम भएका थिए। यस आर्थिक बर्षमा नगरपालिकाले बाल शिक्षक र कर्मचारीको तलबलाई बिषयगत शाखामा समाबेश गरेर शिक्षाका नियमित कार्यक्रममा अवरोध पुर्याउनु स्थानीय सरकारको लापरबाही देखिन्छ। बिद्यार्थीहरुलाई शिक्षा आर्जन गरि उज्ज्वल भबिस्यको बाटो देखाइ राष्ट्रका कर्णधार उत्पादन गर्ने नागरिक तयार गर्न दिइने शिक्षा जस्तो संबेदनसिल क्षेत्रमा बजेट थप गर्नु पर्नेमा बजेट घटाउनु स्थानीय सरकारको गैरजिम्मेवारी देखिन्छ।

शिक्षामा बजेट थप गर्न तथा बाल शिक्षक र कर्मचारीको तलबलाई शिक्षाको नियमित बजेटमा समाबेश नगरी छुट्टै बजेट बिनियोजन गर्न शिक्षक महासंघले प्रभाबकारी रुपमा दबाब दिन सकेन।बाल शिक्षक र कर्मचारीको तलब बिषयगत शाखामा समाबेश नगर्न पहल गरेपनि सुनुवाइ नभएको शिक्षक महासंघ गौरादह नगर अध्यक्ष बाबुराम भण्डारी बताउँछन्।

तपाईको प्रतिक्रिया