Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

झापा, १६ साउन २०७८ । बिर्तामोड नगरपालिकाको कार्यालयमा शनिवार बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो।

खड्कालाई प्रहरीले बिनाकारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिका कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका हुन्। खडकालाई कारबाहीको माग गर्दै तालाबन्दी गरेपछि नगरपालिका परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल विद्यार्थी सङ्घ झापाका सचिव पोषराज कटुवालले खोपको कालोबजारीमा संलग्न खड्कासहितका कर्मचारीको पहिचान गरी कारबाही नभइञ्जेलसम्म ताला नखोल्ने बताए। खोपमा हुने अनियमितताविरुद्धको संघर्षको कार्यक्रमलाई निरन्तर दिने बताउँदै अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले भने, ‘यस्ता खाले विकृति अन्त्यका लागि आन्दोलनमा उत्रिएका छौँ।’

बिर्तामोडस्थित होटेल टाइमलेस मोमेन्टमा लुकाएको १०३ भायल कोरोनाविरुद्धको भेरोसिल खोपसहित खड्कालाई विद्यार्थी नेता र स्थानीय युवाहरूले रंगेहात समातेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। कार्टुनमा १०३ भाइल अर्थात् २०६ डोज खोप रहेको थियो।

मानव अधिकार सञ्जाल झापाले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित गरिएको र होटेलमा लुकाइराखेको अवस्थामा खोप बरामद हुनु घटना लज्जास्पद र निन्दनीय भएको टिप्पणी गरेको छ। त्यस्तै‚ नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले पनि कारबाहीको माग गरेको छ। केन्द्रले एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न नगरपालिकासमक्ष माग राखेको छ।​

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कारबाहीको माग गरेको छ। राप्रपाले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अविलम्ब कारबाही गर्न स्थानीय सरकारसमक्ष माग गरेको छ।टाइम्सअफ प्रदेशबाट साभार

तपाईको प्रतिक्रिया