Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, १० असार २०७८ । राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि गौरादहले आगामी आर्थिक बर्षका लागि बनाइने निति कार्यक्रममा युवा स्वरोजगारलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ। युवा संघले युवाहरु बेरोजगार भइरहेको समयमा रोजगारीका अवसर सृजना गराउन संघले युवा लक्षित नीति कार्यक्रम बनाई वजेट बिनियोजन गर्न गौरादह नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

शैक्षिक बेरोजगार युवाहरुलाई तालिम दिइ सीपको अभावमा बेरोजगार भएकाले उनीहरुलाई स्वदेशमा रोजगार बनाउन स्थानीय सरकारको ध्यानाकर्षण गराएकाछन। युवालाई सीप प्रदान गरेर स्वरोजगार, सहभागिता र नेतृत्व विकासका लागि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा समावेश गरी आवश्यक वजेटको व्यवस्था गरिदिन ध्यानाकर्षण गराउदै १६ बुँदे माग राखेका छन।

युवा संघ नेपाल गौरादह कमिटिका अध्यक्ष विपिन ओझा, उपाध्यक्ष बुबुल सुब्बा, सचिव केवल कुमार कटुवाल र सदस्य डिल्ली प्रसाद शिवाकोटीले १६ बुँदे ध्यानाकर्षण पत्र नगरपालिकाकी उपमेयर गिता भेट्वाललाई बुझाएका छन। ध्यानाकर्षण पत्रमा नगरपालिका भित्र रहेका जनसंख्याको करिब ४० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने युवाहरुलाई जिविकोपार्जनका लागि योग्यता र क्षमताको आधारमा राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ का निर्देशन सिद्वान्त, रणनीति र योजना अनुसार नीति तथा कार्यक्रम तयार गरि बजेट बिनियोजन गर्न माग गरिएको छ ।

गौरादह नगरपालिका अन्तर्गतका सबै क्षेत्रमा युवाहरुलाई लक्षित गरी ‘युवाहरुलाई व्यवसायिक कृषिः नगरको उत्पादन वृद्वि’ भन्ने नारा तय गरी गाई–भैसी पालन, बंगुरपालन, मौरी पालन, कुखुरा पालन, तरकारी खेतीमा सहयोग पुग्ने बजेटमा व्यवस्था मिलाउन पत्रमा माग गरिएको छ।युवा संघका अध्यक्ष विपिन ओझा र सचिव केवल कुमार कटुवाल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नगर स्तरीय एक सुधार केन्द्र स्थापना, युवा रोजगार प्रवर्धन केन्द्र स्थापना, सुचनाको हक सम्बन्धि तालिम, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना, नगरस्तरीय युवा सम्मेलन एवंम युवा महोत्सवको आयोजना , युवा स्वयंसेवक परिचालन कार्यविधि निर्माण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीहरुलाई सम्मान कार्यक्रमको आयोजना र युवा आइटी पार्क स्थापना गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै उपमेयर गिता भेटवालले नगरपालिका युवा स्वरोजगार कार्यक्रमका लागि सकरात्मक रहेको बताइन। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम तयार गरिरहेको समयमा युवाहरुले समयमै जानकारी गराएकाले धन्यवाद ज्ञापन गरिन।युवाहरुलाई स्वरोजगार बनाउने र उनीहरुको क्षमता र सीपको आधारमा नीति तथा कार्यक्रम बनाउन लागिपर्ने प्रतिवद्वता जनाइन। चालु आर्थिक वषर्मा कोरना भाइरस संक्रमणका कारण नगरपालिकाको सोचाई अनुसार काम गर्न नसकेको बताइन। उपमेयरले आगामी वर्षमा युवाहरुको क्षमता बिकाशका लागि आवश्यक वजेट विनियोजन गरी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरुलाई सम्बोधन गर्ने जानकारी गराइन।

तपाईको प्रतिक्रिया