अनलाइनविचार संवाददाता

गौरादह, ३ असार २०७८ । झापाको गौरादहमा नालामा जमेको पानीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । गौरादह-९ बैगुन्धुराका ५२ वर्षिय दिल बहादुर गिरीको आज(बिहिबार)नालामा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कन्काई नदीको शाखा नहरबाट बगेर आएको पानी आफ्नै घर अगाडी रहेको नालामा जमेको पानीमा डुबेर मृत्यु भएको मृतकका छिमेकी कृष्ण दाहालले बताउनुभयो । नालामा मान्छे डुबेको स्थानीयबासीले देखे पश्चात प्रहरीलाई जानकारी दिए लगत्तै घट्नास्थल आईपुगेको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो । मृतक पुरुष छारे रोगी (छोपुवा बिरामी) रहेकोले घरबाट बिहान कसैलाई केहि नभनि हिंडेको र अन्दाजी ११ बजे बिहान नालामा मृत फेला परेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Comments