Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

कार्यपालिकाले चामलको शोध भर्ना गर्नुपर्ने काँग्रेसको माग

गौरादह, २८ जेठ । गौरादहको चर्चित चमल प्रकरणमा बुधवार मुखखोल्यो नेपाली काँग्रेसले । नेपाली काँग्रेस गौरादह नगर समितिले काँग्रेसको तर्फबाट निर्वाचित मेयर सहितका कार्यपालिका सदस्यहरुलाई कुहिएको चामलको शोध भर्ना गर्न निर्देशन समेत गरेको छ ।

त्यसैगरी अघिल्लो आर्थिक बर्षदेखि नै नगरपालिकाले राहतका नाममा संकलित नगद, जिन्सि तथा खाद्यान्नको हिसाब अहिलेसम्म पनि सार्बजनिक नगरेकोमा आपत्ति जनाएको छ । पाँचहजार केजी चामल कुहाउने मुख्य दोषी नगरपालिकाका जनप्रतिनिधि र संबन्धित कर्मचारी भएको निष्कर्ष समेत निकालेको छ ।

नेपाली काँग्रेस नगर सभापति यादवराज सेढाई र सचिव द्वय नेत्र खड्का र बिदुर सुवेदीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधिज्युहरु र सरोकारवाला कर्मचारीहरु र सिङ्गो नगरपालिकाले नगरको प्रतिष्ठा उच्च राख्न गौरादह नगरकार्यपालिकाका सदस्यज्यूहरु र सम्बन्धित कर्मचारीहरुबाट यो नोक्सानको शोध भर्ना गरि गराई भविष्यमा यस्ता घटना नदोहार्याउन नेपाली काँग्रेस नगरपालिका समक्ष जोडदार माग गर्दै नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यज्यूहरुलाई तत्काल सो अनुरुप गर्नु हुन नेपाली काँग्रेस नगरसमिति हार्दिक अनुरोध गर्दछ । ”

बिज्ञप्तिमा गौरादह नगरपालिका नागरिकमैत्रि, सुशासनयुक्त, पारदर्शी र नगरवासीप्रति जवाफदेहि हुनपर्छ भन्ने नेपाली काँग्रेस गौरादहको चट्टानी अडान रहेको समेत उल्लेख गरिएको छ ।

जनताको मतको नासो प्राप्त गरेर राष्ट्रसेवकको सिन्दुर पहिरिएर आए पछि जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु नागरिक मैत्री, पारदर्शी,जवाफदेहि र उत्तरदायि बन्नै पर्ने बिज्ञप्तिमा बताइएको छ ।

गौरादह नगरपालिकाले पाँचहजार केजी चामल कुहाएको र जेठ १० गते गुपचुपमा गाडेको बिषयमा सर्बत्र आलोचना र अपत्ती भैरहेको छ । स्थानीयबाट चामल गाडेको उत्खनन् गर्न माग गर्दा नगरपालिकाले त्यसको भोलिपल्ट चामल कुहिएको बिषयमा दाताहरुलाई समेत आरोप लगाएर बिज्ञप्ति प्रकाशित गरेको थियो ।

काँग्रेसबाट निर्वाचित नगरप्रमुख रोहितकुमार शाहलाई काँग्रेसको यो बिज्ञप्तिले दबाब पुग्ला ? नगरपालिकाले लापरवाही गरेर चामल कुहाएको जिम्मा लेला ? अहिलेसम्म यती ठूलो परिमाणमा चामल कुहाएको विषयमा नेकपा एमाले संस्थागतरुपमा बोलेको छैन । जनप्रतिनिधिहरुले क्षमायाचना सहित चामलको बिगो भर्न तयार होलान् ? गौरादहका जनप्रतिनिधिहरु परीक्षाको घडीमा छन् ।

बिज्ञप्ति जस्ताको त्यस्तै
आदरणीय गौरादहवासी आमा बुवा,दिदिबहिनी तथा दाजुभाईहरु ।
विगत एक वर्ष देखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट हाम्रो गौरादह नगरपालिका समेत अछुतो रहन सकेन । संघिय सरकारले रोकथामका लागि समयमै समुचित प्रवन्ध गर्न नसक्दा हाम्रा धेरै दाजुभाई दिदिबहिनीहरुले अकालमा जिवन गुमाउनु परिरहेको छ भने गरिव विपन्न र मजदूर वर्गको घरमा खाद्यन्न सामग्रीको अभाव भई भोकै बस्नु पर्ने दयनीय अवस्था आईसकेको छ ।
आदरणीय महानुभावहरु
अघिल्लो वर्ष स्थानीय सरकारको रुपमा रहेको गौरादह नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न,संक्रमितहरुको उपचार गर्न, लामो समय लकडाउनको मारमा परेका गरिव विपन्न र मजदूर परिवारलाई राहात वितरण गर्न आन्तरिक श्रोतको परीचालन गर्नुका साथै नगरभित्र तथा देशविदेशमा रहनु भएका ब्यक्ति तथा संस्थालाई सहयोगका लागि अपिल गर्दै कोभिड राहात कोष स्थापना गरेको थियो । सो अनुसार विभिन्न ब्यक्ति ,संघ,सस्थाहरुबाट प्रशस्त मात्रमा नगद,जिन्सि तथा खाद्यान्न सामग्री संकलन भएको थियो भने नेपाली काँग्रेस नगरसमितिको तर्फबाट रु.१,००,१११ ।– एक लाख एक सय एघार रुपैया उक्त कोषमा जम्मा गरेको कुरा स्मरण गराउदछौं ।
आदरणीय महानुभावहरु,
नेपाली काँग्रेस पार्टी सधै विधि, पद्धती,सुशासन र पारदर्शिताको पक्षमा रहदै आएको पार्टी हो । नगरपालिकाले अघिल्लो वर्ष कोभिडको नाममा प्राप्त भएको सहयोग रकम,जिन्सि तथा खाद्यान्न तथा स्वाश्थ्य सामग्रीको विवरण र वितरण भएको तथ्यांक सार्वजनिक गर्नेछ भन्ने विषयलाई धैर्यतापूर्वक प्रतिक्षा गरिरहेका थियौं तर अर्को आर्थिक वर्ष शुरु हुने बेला भई सक्दा पनि उक्त विवरण सार्वजनिक नहुदा तथा संकलन भएको खाद्य सामाग्री अनुचित भण्डारणका कारण खाना अयोग्य भई नष्ट गर्नु परेको घटनाले नेपाली काँग्रेस पार्टी गौरादहको गम्भिर ध्यानाकर्षण भएको छ । नगरवासीले तिरेको कर तथा दाताहरुले आफ्नो गाँस काटेर महामारीमा गरेको मानविय सहयोगबाट प्राप्त सामग्रीको समुचित संरक्षण गर्न नसक्नु गौरादह नगरपालिकाको लापरबाहि तथा अक्षम्य कार्य हो । यो घटनाले नगरपालिकाप्रति दाताहरुको विश्वास घटेको छ भने जनप्रतिनिधि र कर्मचारीहरुको कार्यक्षमता र जवाफदेहितामा समेत प्रश्न उठेको छ । तसर्थ जनप्रतिनिधिज्युहरु र सरोकारवाला कर्मचारीहरु र सिङ्गो नगरपालिकाले नगरको प्रतिष्ठा उच्च राख्न गौरादह नगरकार्यपालिकाका सदस्यज्यूहरु र सम्बन्धित कर्मचारीहरुबाट यो नोक्सानको शोध भर्ना गरि गराई भविष्यमा यस्ता घटना नदोहार्याउन नेपाली काँग्रेस नगरपालिका समक्ष जोडदार माग गर्दै नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यज्यूहरुलाई तत्काल सो अनुरुप गर्नु हुन नेपाली काँग्रेस नगरसमिति हार्दिक अनुरोध गर्दछ ।
आदरणीय महानुभावहरु,
कोरोना भाइरसको दोस्रो लहर अझ बढि संक्रामक र घातक रहेको छ । यो संक्रमणका कारण हामीले हाम्रो नगरका धेरै जना प्रियजनहरुलाइै गुमाइरहेका छौ भने यसको तेस्रो लहरको समेत प्रक्षेपण गरिदैछ जसका कारण विपन्न तथा मजदूर वर्ग अत्यन्तै ठुलो संकटमा पर्दै हुनुहुन्छ तसर्थ कोभिडका कारण ज्यान गुमाउनु भएका ब्यक्तिको परिवारलाई, कोभिडबाट संक्रमित ब्यक्तिलाई र विपन्न र मजदूर परिवारलाई तत्काल राहातको प्याकेज घोषणा र प्रवन्ध गरि कार्यन्वयन गर्न नगरपालिका समक्ष नेपाली काँग्रेस गौरादह नगर समिति जोडदार माग गर्दछ साथै हाल उत्पादन भएको वर्षे धानको उचित बजार र मूल्य नहुँदा किसानहरु ठुलो मारमा परेकाले यथोचित प्रवन्ध गर्न र निकट भविष्यमा आउने बाढि,कटान, डुवान र प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षतिलाई रोक्न समयमै प्रयाप्त पुर्व तयारी गर्न समेत अपिल गर्दछौं ।
आदरणीय महानुभावहरु
जनताको मतको नासो प्राप्त गरेर तथा राष्ट्रसेवकको सिन्दुर पहिरिएर आए पछि हामी जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु नागरिक मैत्री,पारदर्शी,जवाफदेहि र उत्तरदायि बन्नै पर्छ । विपतको समयमा होस वा सामान्य अवस्थामा, हामी हाम्रो कर्तव्यबाट च्युत भयौं भने ढिलासुस्ती,कमिशनतन्त्र,भ्रष्टचार जस्ता गम्भिर अपराधमा जानी नजानी संलग्न भयौं भने क्षणिक लाभ त होला तर त्यसको दूरगामी परिणाम सुखद हुदैन तसर्थ गौरादह नगरपालिका नागरिकमैत्रि,सुशासनयुक्त,पारदर्शी र नगरवासीप्रति जवाफदेहि हुनपर्छ भन्ने नेपाली काँग्रेस गौरादहको चट्टानी अडान रहेको छ । नगरपालिकाले गर्ने सबै प्रकारका नागरिकमैत्री योजना निर्माण गर्न र रचनात्मक कार्यमा नेपाली काँग्रेस गौरादह नगर समिति नगरपालिका र नगरबासीको साथमा सधै रहने प्रतिबद्धता समेत यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौं।
अन्त्यमा कोभिड लगायत अन्य कारणले स्वर्गारोहण हुनु भएका सबै नागरिकप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं साथै कोभिडको उपचाररत् सबै आमाबुवा, दाजुभाई , दिदीबहिनीहरुको शिघ्र स्वाश्थ लाभको कामना गर्दछौं। धन्यवाद
जय नेपाल

तपाईको प्रतिक्रिया