Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

गौरादह, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गौरादहले आज खबरदारी बिज्ञप्ति जारी गरेको छ । नगर सचिव माधव भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गौरादह नगरपालिकाको कोभिड नियन्त्रण सम्बन्धको फितलो तयारी, नगरका बिबादित गतिबिधि तथा कुहिएको चामल प्रकारणमा पार्टीको ध्यानाकर्षण भएको बताइएको छ ।

बिज्ञप्तिमा भनिएको छ प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको नगरपालिका र प्रदेशका आन्तरिक मामिला मन्त्रीको गृह नगर गौरादह पटक पटक बिबादमा आउनुले स्थानीय सरकार प्रतिको आसा निरासामा परिणत भएको तथा नगरवासीले असल शासन अनुभुत गर्न पाएका छैनन् ।

चामल कुहाउन जिम्मेवार जनप्रतिनिधि तथा कर्मचारीहरुबाट चामलको बिगो भराउनु पर्ने तथा प्रकृया पूरा नगरि चामल गुपचुपमा पुरेकोमा चामल उत्खनन् गरेर सत्यतथ्य यथासिघ्र सार्बजनिक गर्नुपने बिज्ञप्तिमा लेखिएको छ ।

बिज्ञप्तिमा आउदो आर्थिक बर्ष २०७८।०७९को गौरादह नगरको बजेट जनमुखी तथा समाजवाद उन्मुख बनाउन सर्बपक्षीय गृहकार्य गरिनु पर्ने समेत उल्लेख गरिएको छ । कारोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेको कार्यसम्पादन पर्याप्त र चित्तबुझ्दो नभएको भनेर आएको जनगुनासो सम्बोधन गर्न नगरपालिकाले सक्रियता बढाउनु पर्ने भनिएको छ ।

बिज्ञप्ति जस्ताको त्यस्तै –

न्यायप्रेमी जनसमुदायहरु अभिवादन !
गौरादह नगरपालिकाको कार्यसम्पादन तथा निर्णहरु पटक पटक बिबादास्पत हुनु र नगरकै बदनाम हुनु अत्यन्तै दुखत पक्ष हो । जनताको मन जितेर जनमुखि कार्यक्रमहरु संचालन गर्दै संविधानको मर्म अनुसार समाजवाद उन्मुख मार्गमा सबै तहका सरकारहरु अघिबढ्नु पर्नेमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरु क्रमशः बदनाम हुनुले जनतामा नैरस्यता छाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्रधामन्त्रीको निर्वाचन क्षेत्र तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीको गृह नगर गौरादह नगरपालिका कहिले अपत्यारिलो चालुखर्च बिनियोजन गरेर, कहिले उच्च बेरुजु भएको पालिका भनेर, कहिले उपभोक्ता समितिका अध्यक्षको मृत्यु प्रकरणमा, कहिले कर्मचारीको विषयमा, पक्षपातपूर्ण राहत वितरणमा, भ्रष्टचारमा, दण्डहिनतामा र अहिले कुहिएको चामल प्रकरणमा बिबादको उत्कर्षमा छ । गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुमा जवाफदेहीता नहुनु, मनोमानी र गैरजिम्मेवारीको कारण स्थानीय सरकारको असल शासशनको आसा निरासामा परिणत भएको छ ।

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नगर समितिले बिगतदेखि नै यस नगरपालिका भित्र दलिय संरक्षणमा झाँगिएका सबैखाले बिकृति र बिसंगतिको बिरुद्धमा खबरदारी गर्दै आएको ब्यहोरा जगजाहेर नै छ ।

यस गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएको चार बर्ष पुगिसक्दा पनि बजेट निर्माण गर्दा तथा दिर्घकालिन महत्वका गुरु योजना बनाउदा अहिलेसम्म पनि बिज्ञहरु संग तथा सर्बदलीय र सर्बपक्षीय छलफल, अन्तरक्रिया नगरेको प्रति खेद ब्यक्त गर्दैे आर्थिक बर्ष २०७८।०७९ को बजेट बनाउँदा बृहत सर्बपक्षीय छलफल र पारदर्शी गृहकार्य गरेर समाजवाद उन्मुख जनमुखि बजेट बनाउन समयमै ध्यानाकर्षण गराउदछु ।

कोरोना महामारीको यो बिषम परिस्थितिमा अन्य पालिकाको तुलनामा गौरादह नगरपालिकाको फितलो ब्यवस्थापनको कारण नागरिकहरुमा निरासा बढेको छ । संक्रमितहरुसंग सम्पर्कमा रहेकाहरुको उपयुक्त समयमा कन्ट्राक ट्रेसिङ नगरिनु, आइसोलेसनमा घरमै बसेका संक्रमितहरुलाई पोषणको ब्यवस्था नगरिनु तथा स्वास्थ्य परामर्श नगरिनु, बिपन्न संक्रमितहरुको औषधि उपचार खर्च ब्यवस्थापन नगरिनु जस्ता तथ्यहरुले नागरिकको जीवन रक्षामा नगरपालिका संवेदनशिन नभएको ठहर्दछ । आफ्ना नागरिकको जीवन रक्षामा जवाफदेही, जिम्मेवार र उत्तरदायी भएर कार्यसम्पादनमा थप सक्रियता बढाउन नगरपालिकाको ध्यानाकर्षण समेत गराउदछु ।

हाल नगरपालिकाले असुरक्षित भण्डारण गरेर पाँच हजार केजी चामल कुहाएको र नगरपालिका परिसरमा गुपचुपमा खाडल खनेर गाडेको घटनाले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । स्थानीय जनताले स्वतस्फर्त उपस्थित भएर गुपचुपमा गाडिएको भनिएको खाद्यान्न हेर्न पाउनु पर्छ भनेर पुरिएको स्थानमा उत्खनन् गर्न खोज्दा प्रहरी लगाएर अवरोध गरिनु प्रति समेत खेद ब्यक्त गर्दछु ।

चामल नस्ट गर्दा आवस्यक प्रकृया पूरा नगरी खाद्य गुणस्तर मापनको प्रतिवेदन बेगर, नागरिक समाज, दलीय प्रतिनिधि, अधिकार कर्मी, संचारकर्मीहरु समेतको रोहबरमा नगरेर गुपचुपमा किन गरियो ? चामलको संरक्षणात्मक भण्डारण नगर्ने जनप्रतिनिधि र कर्मचारीहरुबाट क्षतिको बिगो भराउनु पर्ने आम नागरिकको मागमा हाम्रो पार्टीको जोडदार समर्थन रहेको ब्यहोरा समेत यो बिज्ञप्ति मार्फत अनुरोध गर्दछु ।

क्रान्तिकारी अभिवादन सहित
मिति : २०७८।०२।१२
सचिव
माधव भट्टराई
नेकपा माओवादी केन्द्र
गौरादह नगर समिति

तपाईको प्रतिक्रिया